मङ्लबार, जेष्ठ ५, २०८३

विकासका लागि हातेमालो अनिवार्य, दिगो खानेपानी योजनामा नगरपालिका प्रतिबद्ध छ- नगरप्रमुख भट्ट

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले कुनै पनि संस्थाको दिगो विकासका लागि सबैपक्षीय समन्वय र हातेमालो आवश्यक रहेको बताएका छन्। अत्तरिया साना शहरी खानेपानी, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, र सामुदायिक बन संरक्षण जस्ता परियोजनाहरू सबै दल र समुदायको सहकार्यबाट सम्भव भएको उनले उल्लेख गरे।

नगरप्रमुख भट्टका अनुसार, स्थानिय सरकार एक्लैले सबै क्षेत्रको नेतृत्व गर्न सक्दैन, जनताको साथ र संस्थाहरूको सहयोग विना विकास कार्य प्रभावकारी बन्न सक्दैन। “खानेपानी, सहकारीलगायतका संघसंस्थाहरू स्थानीय सरकारका लागि अपरिहार्य साझेदार हुन्। यी संस्थासँगको समन्वयबाट मात्रै समृद्धि सम्भव छ,” उनले भने।

भट्टले जलवायु परिवर्तनका प्रभावबारे पनि गम्भीर चिन्ता व्यक्त गरे। उनले बताएअनुसार हाल जलवायु परिवर्तनका कारण विशेष गरी खानेपानीको स्रोत सुक्दै गएका छन् भने कृषि क्षेत्रमा समेत असर परिरहेको छ। “यो समस्या जटिल हुँदै गएको छ, त्यसको न्यूनीकरणका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको छ,” उनले स्पष्ट पारे।

उनी भन्छन्, “दिगो समाधानका लागि पानीका मूल मुहानहरू पहिचान गरी दीर्घकालीन योजनाअनुसार डीपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) बनाउन जरुरी छ। गोदावरी नगरपालिकाले त्यसमा आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता जनाइसकेको छ।”

पछिल्लो समय नियमनबिना हुने गरेका जग्गा प्लटिङका कारण खानेपानी पाइपहरु पटक–पटक फुट्ने समस्या देखिएको उल्लेख गर्दै नगरप्रमुख भट्टले भने, “नगरपालिकासँग समन्वय नगरी प्लटिङ गरी निकालिएको बाटोलाई अब मान्यता दिइने छैन। यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ।”

उनले अत्तरिया खानेपानी संस्थासँग नगरपालिकाले सहकार्य गर्दै सडक निर्माणका क्रममा भएका क्षतिहरूको मर्मतसमेत गरिरहेको जानकारी दिए। “सडक विस्तारका कारण फुटेका खानेपानी पाइपलाई मर्मत गर्ने जिम्मा नगरपालिकाले लिएको छ,” उनले बताए।

अन्त्यमा, नगरप्रमुख भट्टले स्थानीय सरकार सधैं जनताको हितमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याए। “विकासको काममा नगरपालिकाको सधैं सकारात्मक भूमिका रहन्छ। आवश्यकता सामूहिक होस् भने नगर सधैं तपाईँहरूको साथमा छ,” उनले भने।