मङ्लबार, जेष्ठ १९, २०८३

कैलारी गाउँपालिकाले सार्वजनिक गर्‍यो ७२ करोड २५ लाखको वार्षिक बजेट

कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष भगवतीकुमारी चौधरीले शनिवार सम्पन्न गाउँसभा बैठकमा बजेट प्रस्तुत गरेकी हुन्।

गाउँपालिकाले कार्यालय सञ्चालनका लागि ११ करोड ५४ लाख, समपूरक कोषका लागि पाँच करोड २५ लाख, बाँकी भुक्तानीका लागि दुई करोड ५० लाख, भूमि व्यवस्थापनतर्फ ६० लाख र अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

सूचना प्रविधिदेखि रोजगारसम्म

विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख रुपैयाँ छुट्याइएको छ भने उपाध्यक्ष समावेशी कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रमका लागि क्रमशः १०–१० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

वडा विकासमा जोड
गाउँपालिकाले प्रत्येक वडाका लागि ६० लाखका दरले नौ वटै वडामा कूल पाँच करोड ४० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। उपाध्यक्ष चौधरीका अनुसार बजेटले स्थानीय पूर्वाधार, सामाजिक समावेशिता, सुशासन तथा युवालाई लक्षित कार्यक्रमहरूमा प्राथमिकता दिएको छ।