मङ्लबार, जेष्ठ १९, २०८३

गेटा अस्पतालका निर्देशक र सङ्घर्ष समिति बिच छलफल, सेवा प्रभावकारी बनाउन आग्रह

धनगढी,९ असार । सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समिति र गेटा अस्पतालका निर्देशक प्रमोद यादव बिच छलफल भएको छ । सोमबार गेटा अस्पतालको पछिल्लो अवस्था र सेवा प्रवाहमा भएको लापरबाहीका कारण जनताले भोग्नुपरेका समस्या सँगै ३ सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्यापन गराउनका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने विषयमा छलफल गरिएको हो । छलफलमा गेटा अस्पतालले अझै सेवा चुस्त दुरुस्त दिन नसकेको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी हुन नसकेको, मनोमानी कर्मचारी नियुक्ति र हटाउने काम गरिएको लगायतका विषयमा छलफल गरिएको थियो ।

सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले ३ सय बेड भनेर अहिले पनि ५० बेडको मात्रै सञ्चालन रहनु विडम्बना भएको बताए । उनले सञ्चालनमा रहेको ५० बेडको अस्पतालमा पनि इनडोर सेवा मात्रै सञ्चालनमा रहेको बताए । उनले ५० बेडका लागि डाक्टर, इक्युबमेन्ट हुँदा पनि डाक्टरहरू अस्पतालमा नबस्ने गरेका कारण बिरामीको चाप बढ्न नसकेको बताए ।

उनले गेटामा आगामी आर्थिक वर्ष देखि ३ सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरी सञ्चालन गर्न अस्पताल प्रशासनले भूमिका खेल्नुपर्ने बताए । उनले आगामी शैक्षिक सत्र देखि नै चिकित्सा शिक्षा अध्यापन गराउने वातावरण बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।

‘यहाँ मेसिन बिग्रिएका छन् भनेर निजी अस्पतालमा बिरामी पठाउने, डाक्टर १० बजे आएर ११ बजे जाने जस्ता गुनासा आएका छन्’ उनले भने ‘किन अस्पतालमा बिरामीको चाप बढ्न सकेन भनेर यस क्षेत्रका जनप्रतिनिधि बसेर सल्लाह गर्न आवश्यक छ ।’

सङ्घर्ष समितिका तर्फबाट बोल्दै डा. डम्बर बहादुर पालले यती ठुलो संरचना बनाउँदा पनि सेवा प्रवास चुस्त दुरुस्त हुन नसक्नु विडम्बना भएको बताए । उनले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाएर चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा पढाइको काम सुचारु गरिनुपर्ने बताए ।

सङ्घर्ष समितिका तर्फबाट बोल्दै डा। नर बहादुर मौनीले ३० जना डाक्टर हुँदा पनि त्यो अनुसारको सेवा प्रभाव हुन नसकेको बताउँदै यस्तो हुनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।

सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले सङ्घर्ष समितिले अस्पतालको अवस्था बुझ्नको लागि छलफलको आयोजना गरिएको बताए । उनले अस्पताल विश्वविद्यालयको जग भएकाले यसलाई सुदृढ बनाउन आवश्यक रहेकाले सङ्घर्ष समितिले निरन्तर दबाबका कार्यक्रम जारी राखेको बताए । सङ्घर्ष समितिका सदस्य विनोद विष्टले इमर्जेन्सी सेवा सञ्चालन नहुँदा गेटबाट बिरामी फर्किनुपर्ने अवस्था रहेको बताए ।

उनले अस्पतालका लागि मात्रै डेढ अर्ब खर्च भइसक्दा पनि अझै अस्पतालको सेवा प्रभावकारी हुन नसकेको बताए । उनले फार्मेसीमा औषधी नपाउने, नर्सहरूको व्यवहार राम्रो नभएको, क्यान्टिनमा पनि दररेट भन्दा बढी पैसा लिने गरिएको बताए । सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले मेडिकल सामान खरिद गर्नु पूर्व वायोमेडिकल इन्जिनियर परिवर्तन गरिनु, लेखा अधिकृत सरुवा गरिनुले भ्रष्टाचारको पनि गन्ध आएको बताए ।

छलफल कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक यादवले अहिले सम्म पुरानै निर्देशकले बनाएको योजना अनुसार अस्पताल सञ्चालनमा रहेको बताउँदै आगामी आर्थिक वर्षको साउन देखि आफूले बनाएका योजना अनुसारका क्रियाकलाप गरिने बताए । उनले साउन देखि स्वास्थ्य बिमा, मातृ शिशु कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । उनले अहिले सम्म पनि अस्पतालको खाता नखुलेकाले आम्दानी गरेको रकम खर्च गर्ने सक्ने अवस्था नभएकाले त्यसका लागि पनि साउने देखि प्रक्रिया अगाडि बढाउने बताए । उनले साउन देखि ३ सय बेडको अस्पताल सञ्चालनका लागि अनुमति र दरबन्दी माग गरिएको बताए ।

उनले कर्मचारी सरुवा, हटाउने कुरा आफ्नो मातहतमा नभएको बताए । उनले उनले बायोमेडिकल इन्जिनियर ज्यालादारीमा कार्यरत भएकाले सरकारले नै पुस देखि जारी गरेको सर्कुलर अनुसार हटाउनु परेको बताए । उनले भने ‘कुनै पनि अधिकृत स्तरको कर्मचारी ज्यालादारीमा राख्न नपाइने भएकाले पुरानो बायोमेडिकल इन्जिनियरलाई हटाएर नयाँ करारमा ल्याएका हौ ।’