धनगढी , १४ भदौ / कैलालीबाट प्रहरीले ५ किलो ६९० ग्राम चरेस र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइन सहित ५ जनालाई पक्राउ गरेको छ । शुक्रवार धनगढी उप–महानगरपालिका – २ त्रिनगर ब्यारेलबाट खैरो हेरोइन सहित २ जना, चरेस सहित धनगढीबाट होटल सञ्चालन र धनगढी जुगेडाबाट खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।
लागू औषध ब्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिगएको संयुक्त प्रहरी टोलीले डोटीको शिखर नगरपालिका – ८ घर भई हाल गोदावरी नगरपालिका – १ बस्दै आएका ३५ वर्षीय वीर बहादुर रावलले चलाएको सु.प.प्र.०४००१ प ०६६५ नम्बरको मोटरसाइकल चेक गर्दा उनको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै सोही टोलीले चुरे गाउँपालिका – ३ का ३२ वर्षीय मोहन मल्ललाई शङ्का लागि चेकजाँच गर्दा उनको मोबाइलको खोल भित्र लुकाई–छिपाई राखेको ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता लोक राज जोशीले बताए ।
यसैबिच धनगढी उप–महानगरपालिका १२ जुगेडाबाट जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिगएको संयुक्त प्रहरी टोलीले सु.प.प्र.०१०१३ प २३४५ मोटरसाइकल चालक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका – १२ का २३ वर्षीय विजय बिक र मोटरसाइकलमा पछाडि सवार धनगढी उपमहानगरपालिका – ७ का २२ वर्षीय प्रदीप राना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।