सोमवार, जेष्ठ १८, २०८३

माईती घर मण्डलामा ’लालटिन आन्दोलन

काठमाडौं-बोलन्या थलीले काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार लालटिन आन्दोलन गरेको छ । अछामका करिब ४ हजार घरपरिवार अझै पनि बिजुलीबिनै अन्धकारमा बस्न बाध्य भएपछि दिउँसो नै लालटिन बालेर प्रदर्शन गरिएको हो ।

आन्दोलनका संयोजक यादव जोशीका अनुसार तुर्माखाँद गाउँपालिकाको भुलु र रहफ, ढकारी गाउँपालिकाको बलाता, कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटाने क्षेत्रमा बसोबास गर्ने करिब ४ हजार परिवार अझै विद्युतको पहँचमा छैनन् । ‘नेपाल विद्युत प्राधिकरणले निरन्तर नाफा कमाइरहेको छ,’ उनले भने ‘तर, विडम्बना अछाम अँध्यारोमै छ ।’

डडेल्धुराको गन्यापधुरा–२ निवासी जोशी पश्चिम सेती जलविद्युत आयोजना निर्माण संघर्ष समितिका प्रमुख समेत हुन् । पश्चिम सेती अभियान, डोको अभियान, प्रधानमन्त्रीलाई एक लाख पत्र अभियान, बैल गाडा अभियान र जातीय विभेदविरुद्ध अभियान जोशी अफ्नो नेतृत्वमा सञ्चालन गरिसकेका छन् ।

प्रदर्शनमा सहभागीहरूले लालटिन बालेर सरकार र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए। उनीहरूले “अन्धकारमा बस्न पाउँदैनौं”, “प्रकाश हाम्रो अधिकार हो” भन्ने जस्ता नारा लगाउँदै अछामका टाढाका गाउँमा विद्युत पु¥याउन सरकारसँग माग गरेका छन।

बोलन्या थलीका संयोजक यादव जोशी अनुसार, ती क्षेत्रका बासिन्दाहरू वर्षौं देखिको पर्खाइपछि पनि विद्युतबाट बञ्चित छन्, जसका कारण शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका दैनिक जीवनका हरेक पक्ष प्रभावित हुँदै आएका छन्। उनीहरूले स्थानीय बासिन्दाहरूको दैनिकीमा सुधार ल्याउन तत्काल विद्युत सेवा विस्तारको माग गरेका छन्।