अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प महसुस गरिएको छ। भूकम्प विशेषगरी कुनार र नाग्गारहार प्रान्तमा केन्द्रित भएको हो। ग्रामीण क्षेत्रमा माटो र ढुंगाका अधिकांश घर भत्किँदा जनधनको ठूलो क्षति भएको छ। मोबाइल नेटवर्क अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले बताएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलका अनुसार ३० जना डाक्टर प्रभावित क्षेत्रमा परिचालित छन् भने ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री पठाइएको छ। उनले अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गर्दै भने, “हामीलाई सहयोग आवश्यक छ, किनकि धेरै मानिसले ज्यान गुमाए र घर भत्किएका छन्।” तर अफगानिस्तानको विदेश मन्त्रालयका अनुसार अहिलेसम्म कुनै पनि देश वा संस्थाले प्रत्यक्ष उद्धार वा राहत सहयोग प्रस्ताव गरेको छैन।
हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने अफगानिस्तान भौगोलिक रूपमा विनाशकारी भूकम्पको उच्च जोखिममा रहेको देश हो। दुई वर्षअघि हेरातमा गएको भूकम्पपछि प्रभावित धेरै गाउँ अझै अस्थायी आवासमै रहेका छन्। गृहयुद्धपश्चात पुनर्निर्माणमा संघर्षरत अफगानिस्तानलाई पछिल्लो भूकम्पले फेरि गम्भीर संकटमा पारेको छ।