धनगढी: आगामी निर्वाचनलाई लक्षित गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझा नेतृत्वको प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। “व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित ओझा समूहले शनिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मेडइन सुदूरपश्चिम” अभियान सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना गर्ने प्रतिबद्धता राखिएको छ। साथै, व्यवसायलाई आकर्षित गर्न भारत र नेपालका उद्योगी, लगानीकर्तालाई लक्षित गर्दै लगानी सम्मेलन गर्ने घोषणा पनि गरिएको छ।
नयाँ कार्यसमितिका लागि पुष्कर राज ओझाको नेतृत्वमा प्यानल खडा गरिएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट उपाध्यक्ष (उद्योग) तर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएट तर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्य तर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगत तर्फ भीमराज ओझा (अबु) महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्ण कुमारी बिष्टको उम्मेदवारी रहने भएको छ।
ओझा प्यानलमा सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ।