सोमवार, जेष्ठ १८, २०८३

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

धनगढी २७ भाद्र/बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु.प.प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा तल्कोट गाउँपालिका – ४, उपरकोटका विकास सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमालाले बताए ।दुर्घटनामा परी तल्कोट–४ का ३० वर्षीय खगेन्द्र खत्री, सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्ल घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।