सोमवार, जेष्ठ १८, २०८३

धनगढीमा आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

धनगढी, २७ भाद्र/कैलाली लगाएत सुदूरपश्चिमको जनजीवन सामान्य उन्मुख छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको छ ।दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ ।

दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ ।जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुनस् निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि धनगढी लगाएत सुदूरपश्चिम प्रदेशको जनजीवन सामान्य उन्मुख छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको छ ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । सरल भाषामा भन्दा निषेधाज्ञा लगाउनुको उद्देश्य मानिसहरुको भिडभाड रोक्नु हो । कर्फ्यु भने आवतजावत र हिँडडुल नै बन्द गर्ने कडा आदेश हो ।