सोमवार, जेष्ठ १८, २०८३

जेन–जी आन्दोलनपछि सुदूरपश्चिमका १४५८ कैदीबन्दी फरार, ६०८ जेल फर्किए

सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट जेन–जी आन्दोलनको समय फाइदा उठाउँदै १४५८ कैदीबन्दी फरार भएका छन्। २०८२ भदौ २४ गते सडकमा प्रदर्शन चर्किरहेको बेला बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारबाट कैदीबन्दीहरू भागेका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटका अनुसार सोमबारसम्म ६०८ जनालाई पुनः जेलमा फिर्ता गरिएको छ। फर्किएकामध्ये कतिपय स्वयं फिर्ता भएका छन् भने केहीलाई नियन्त्रणमा लिएर कारागार पुर्‍याइएको हो। तर अझै ८५० कैदीबन्दी फरार रहेका छन्।

सम्बन्धित जिल्ला कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई सार्वजनिक सूचना मार्फत सम्पर्कमा आउन आग्रह गरेका छन्। साथै प्रहरी टोली परिचालन गरेर खोजी कार्य तीव्र बनाइएको छ। कञ्चनपुर र कैलाली जेलखानाबाट सो दिन सबै कैदीबन्दी भागेका थिए, जसले कारागार व्यवस्थापनमा चुनौती थपेको छ।