काठमाडौं– नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष रक्षात्मक बनेको छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठन, पुस्तान्तरण र अर्ली महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेपछि संस्थापन रक्षात्मक बनेको छ।
देउवाका पक्षबाट प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिवाद गरेका छन्।
उनले आइतबार महामन्त्रीद्वयको प्रस्ताव अस्वीकार हुने बताए। महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सांघातिक हमलाबाट सभापति देउवाको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गरेर नुन छर्ने काम गरिएको आरोप लगाए।
देउवाले लोकतन्त्रका लागि लामो संघर्ष गरेको स्मरण गरेका उनले भने,‘उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो। अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन। त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो।’
उनले पार्टीले यसप्रकारका आक्रमणको भत्र्सना र निन्दा गरिसकेको भन्दै अहिले आन्तरिक विवादमा भन्दा एकतामा जोड दिनुपर्ने बताए।
‘हाम्रो पार्टीभित्र अहिले जुन बहस भइरहेको छ, त्यो आलो घाउ ठिक नहुँदै सुरु भएको छ । त्यसप्रति हामी गम्भीर हुनुपर्छ,’ उनले भने।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महामन्त्री थापा र शर्माले अहिलेको आन्दोलनको स्पिरिटलाई नबुझे कांग्रेस समस्यामा फँस्ने भन्दै नेतृत्वलाई विदा गर्नुपर्ने बताएका थिए।