आइतवार, जेष्ठ १७, २०८३

मुग्लिङ–नारायणगढ सडक सुचारु गरि यात्रु र मजदुरको उद्धार गर्न माग

काठमाडौं : मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको तुइन खोला नजिक खसेको पहिरो पन्छाउन नसकिँदा ३६ घण्टादेखि यात्रु, सवारीसाधन चालक र यातायात मजदुरहरू सडकमै अलपत्र परेका छन्।

असोज ३ गते साँझ साढे ६ बजेदेखि खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो। आइतबार बिहान ८ बजेसम्म पनि सडक खुलेको छैन। तुइन खोलादेखि भरतपुरतर्फ सडक र मुग्लिङदेखि नागढुङ्गासम्म विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारी साधनहरु लाम लागेर रोकिएका छन्।

भरतपुर सडक डिभिजन कार्यालयले बिहान ७ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरेपनि निरन्तर पहिरो खसिरहेकाले काममा कठिनाइ भएको जनाएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं आउने र देशका विभिन्न जिल्ला जाने हजारौँ यात्रु र मजदुरहरू बाटैमा बिचल्लीमा परेको यातायात व्यावसायी दिनेश कोइरालाले बताए । कतिपय स्थानमा यात्रु र सुरक्षाकर्मीबीच वादविवाद भएको छ। सडकमै रात गुजारेका यात्रु र मजदुरहरू खानेपानी र खाद्यान्नको समस्यामा  परेको कोइरालाले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले तत्काल सबै स्रोत र साधन प्रयोग गरी पहिरो पन्छाउँदै सडक आवागमन सुचारु गर्न सरकारसँग माग गरे। उनले भने, “३६ घण्टादेखि सडकमा फसेका हजारौँ यात्रु र मजदुरहरूको अवस्था दयनीय छ। जबसम्म सडक खुलेर आवागमन सहज हुँदैन, तबसम्मका लागि सरकारले खानेपानी र खाद्यान्न उपलब्ध गराउनुपर्छ र तत्काल उद्धारमा जुट्नुपर्छ।”

राईले मुग्लिङ–नारायणगढ सडक तत्काल खोल्न माग गर्दै विपद्को अवस्थामा परेका यात्रु र मजदुरहरूको सुरक्षालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।