शनिबार, बैशाख १९, २०८३

किङ्स लञ्च गेमिङ क्लब क्यासिनोः नियमविपरित जुवातास खेलाउँदै, नेपालीलाई निर्वाध प्रवेश

शेरबहादुर ऐर
धनगढी– क्यासिनो नियमावली अनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । तर, सो विपरित धनगढीमा खुलेको एक मिनि क्यासिनोले ठुला क्यासिनोमा जस्तै जुवा खेलाउने गरिएको पाइएको छ ।
नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठुला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्याउँदै धनगढीमा सीमा क्षेत्रनजिकै होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले ठुलो क्यासिनो दाबी गर्दै जुवातास खेलाइरहेको पाइएको हो ।
होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले दैनिक नभई सातामा जुवातास खेलाउने गरेको क्यासिनोका प्रबन्धक सुनील श्रेष्ठले बताए । उनले भारतीय नागरिकलाई मध्ये नजर गरेर दैनिक नभई सातामा जुवातास खेलाउने गरेको स्वीकार गरे । उनले भने –‘हामीले वार्षिक एक करोड पर्यटन विभागमा राजश्व तिरिरहेका छौं । धनगढी उपमहानगरपालिकामा पनि वार्षिक ५० हजार राजश्व तिरिरहेका छौं । यो मिनि क्यासिनो होइन । ठुलो क्यासिनो हो ।’
धनगढीमा अहिलेसम्म चार तारे होटलसमेत खुल्न सकेको छैन । अहिले होटल सनलाइट र चौलानी होटल स्तरोन्नति गर्दै पाँच तारे होटल बनाउने तयारीसहित लागि रहेको छ । होटल साथीले पनि आफुलाई स्तरोन्नति गराउने तयारी गरेको थियो । तर, अहिलेसम्म सो मापदण्ड अनुसार पुग्न सकेको छैन ।


जुवातासमात्र नभई सो क्यासिनो भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरूकोसमेत भिड लाग्ने गरेको छ । जसले गर्दा कतिपय नेपाल परिवारहरूको बिल्लिबाठ हुन पुगेका छन् । क्यासिनोले सञ्चालन गरेको तास जुवाबाट धनगढीका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् ।
क्यासिनोमै म्यारिज, पप्लु र फलासको जुवाबाट धनगढीका सुन व्यवसायी गरिरहेका व्यापारी घर न घाटका बनेका छन् । हामीलाई प्राप्त प्रमाणका आधारमा क्यासिनोमा नेपाली व्यवसायीलाई आकर्षण गराउन विभिन्न प्रलोभनमा पारिएको देखिन्छ ।
विगतमा धनगढीका व्यापारीहरु क्यासिनो खेल्न कैलालीदेखि नेपालगञ्ज जाने गर्थे । तर, अहिले केही व्यवसायीहरु सोही क्यासिनोमा पुगेर सम्पत्ति नास भएको बताउँछन । एक व्यापारीले भने –‘कहिले आधा पैसा देउ त, कहिले भोली पर्सि दिनु तथा नयाँ–नयाँ आकर्षण अफर रहेको लगायत ह्वाटएप्समा म्यासेज गरि बोलाउने कार्य क्यासिनोबाट भयो । यहाँका धेरै कमाउने व्यापारीहरुलाईनै सोही क्यासिनोले निशाना बनाएको देखिन्छ ।’
नेपालीलाई प्रवेश दिलाउनु र खेलाउनै नपाइने कार्ड गेम खेलाउने काम क्यासिनो नियमावलीविपरीत हो । क्यासिनोमा खासगरी नेपालीबाहेकालाई प्रवेश पाउँने नियम छ ।
प्रबन्धक सुनील श्रेष्ठले जुवातास खेलाउने गरेको स्वीकार गरेको भएपनि नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने गरेको विषयमा अस्वीकार गरे । उनले भने –‘हामीले परिचयपत्र हेरेरमात्र क्यासिनोमा प्रवेश गराउने गरेका छौं । तपाइलाई आएको गुनासो झुठो हो । तपाई यहाँ राखिएको सिसिटिभी फुटेज पनि हेर्न सक्नुहुन्छ ।’
क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट पाँच किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । नेपालका क्यासिनोहरुले यो मापदण्ड मानेका छैनन् ।
कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले क्यासिनोबाट नेपालीहरु लुटिएको तथा जुवातास खेलाइरहेकोबारे कसैबाट गुनासो नआएको बताइन । उनले भनिन –‘नियमविपरित क्यासिनोबाट कार्य भइरहेको जानकारी पाए अनुगमन गरि नियमनमा ल्याइने छ ।’ उनले नेपालीहरुका लागि क्यासिनो सञ्चालन नगरिएकाले त्यहाँ नजान अनुरोध गरिन ।