शनिबार, बैशाख १९, २०८३

डोटीको बुडर झरनामा बसर युवा क्लबद्वारा सरसफाई अभियान

 

कैलाली ।
कैलालीको चुरे गाउँपालिका–३ स्थित बसर युवा क्लबले छेमेकी जिल्ला डोटीको जोरायल गाउँपालिका क्षेत्रमा पर्ने बुडर झरनामा सरसफाई अभियान सञ्चालन गरेको छ।

दसैँ मनाइरहेका क्रममा क्लबका सदस्यहरू बुडर झरना, छतिवन ताल र वरपरका धार्मिक स्थलहरूको अवलोकनका लागि गएका थिए। प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त क्षेत्र भ्रमणपछि फर्कने क्रममा क्लबका सदस्यहरूले झरना वरपर फोहर देखेपछि स्वेच्छाले सरसफाई कार्यमा जुटेका थिए।

धार्मिक र पर्यटकीय महत्व बोकेको स्थल सफा राख्न सबैलाई प्रेरित गर्नका लागि “आफ्नो फोहर आफैँ सफा गरौं” भन्ने सन्देशसहित सरसफाई गरिएको क्लबले जनाएको छ।

बसर युवा क्लबले चुरे क्षेत्रमा कृषि, पर्यटन र खेलकुदका माध्यमबाट गाउँको विकास र प्रचार–प्रसारमा निरन्तर योगदान दिँदै आएको छ। क्लबका अध्यक्ष गणेश देउबाका अनुसार, “हामीले केवल सरसफाई मात्र होइन, चुरेको सम्भावना र सौन्दर्य पनि सबैमाझ उजागर गर्न खोजिरहेका छौँ,” भन्दै आगामी दिनमा पनि यस्ता सकारात्मक अभियान निरन्तर चलाउने प्रतिबद्धता जनाए।