शेरबहादुर ऐर
धनगढी– सुशासनको ठुलो नारा दिँदै आएको धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिबाटै वडाबासी ठगिन पुगेका छन । धनगढीसहित तराईबासीको सबैभन्दा ठुलो समस्या हो सहज रुपमा जग्गा धनी पुर्जा पाउन नसक्नु । सोही जग्गा धनी पुर्जा उपलब्ध गराउने नाममा धनगढीका एक जनप्रतिनिधि आफै ठगी धन्दामा लागेको पाइएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का भुवन रिजालले जग्गा नापी गराइदिने प्रलोभनमा पारि आफ्नै मतदाताहरुलाई ठगी गरेको पाइएको हो । उनले गत असारमा वडाका विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारि रकम असुली गरेको पीडित वडाबासीहरुको गुनासो रहेको छ ।
नाम नखुलाउने सर्तमा धनगढीमा भेटिएका वडा नम्बर १८ का एक स्थानीयका अनुसार उनले वडा अध्यक्ष रिजाललाई दुइ लाख रकम दिएको जानकारी दिएका छन । उनले भने –‘गत असार २३ गते वडा अध्यक्ष रिजालले जग्गा नापी गराइदिने भन्दै दुई लाख रकम मागे । मैले सहकारीबाट ऋण निकालेर उनलाई दिए । तर, अहिलेसम्म जग्गा धनी पुर्जा हातपर्न त टाढाको कुरा । मेरो नाममा हालसम्म जग्गा पनि दर्ता हुन सकेको छैन । न त पैसानै फिर्ता भयो ।’ वर्षौदेखि धनगढीमा बस्दै आएपनि अहिलेसम्म उनको नाममा जग्गा नामसारी हुन सकेको छैन ।
अहिले भुमी आयोगनै खारेज भएपछि उनले वडा अध्यक्ष रिजालसंग आफुले दिएको पैसा फिर्ता माग्ने तयारी गरे । उनले वडा अध्यक्षसंग फोन संवाद गर्दा आफु धनगढी रहेको बताएका छन । उनले संवादमा पैसा फिर्ताको विषय भेटेर कुरा गर्ने बताएका छन । दुई छोरा, बुहारी र नाती नातिना रहेका पीडितपक्ष जग्गाको टुङगो नलाग्दा हालसम्म जग्गाविहिन भएका छन । पीडितकी श्रीमतिले आफना श्रीमान र वडा अध्यक्षबिच भएको कुराकानीबारे आफुलाई जानकारी नभएको बताइन ।
हामीसंग प्राप्त रिजाल र पिडकसंगको संवादमा रिजाल आफु धनगढीको मुख्य बजारमा रहेको बताएका छन । उनले भनेका छन –‘फागुन २१ गतेसम्म चुनाव गराउन सकेन भने संसद पुर्नगठन हुने छ । फागुन १५ सम्म फेरी अहिलेका सदस्य तथा अध्यक्षहरुनै आयोगमा पुन नियुक्ति पाउने छन । निर्वाचनको मिति घोषणा भएकाले जग्गा नापीसम्बन्धी कुनै काम हुँदैन । भुमिहिनका विषयमा अहिले कुनै काम नहुने भएकाले पुनः अर्को सरकार आएसंगै अहिले आयोगमा भएका व्यक्तिहरुनै दोहोरिनेछन । सोही समयमा जग्गा नापजाँच गराइदिनेछु । तर, अहिले यो विषयमा कसैलाई केही नभन्नुहोला ।’ वडा अध्यक्ष रिजालले उनलाईमात्रै नभई वडाका विभिन्न व्यक्तिहरुबाट दुई लाखका दरले रकम असुल गरेको स्थानीयहरु बताउँछन । उनले पिडकसंग पैसा फिर्ता दिने कुरा नगरेको भएपनि सल्लाह गर्नेमात्र भनेका छन ।
उनले जग्गा नापजाँच गराइदिनेभन्दै २४ लाख रकम संकलन गरेको स्थानीयहरु बताउँछन । तर, अहिलेसम्म जग्गा नापजाँच नभएपछि रकम फिर्ता माग्ने व्यक्तिहरुको संख्या बढ३ददै गएपछि वडा अध्यक्ष रिजाल वडा कार्यालयमा कमै उपस्थित हुने गरेको पीडितहरु बताउँछन ।
वडा अध्यक्ष रिजालसंग हामीले सोही विषयमा कुराकानी गर्न खोज्दा उनले पैसा असुल गरेकोबारे अस्वीकार गरे । उनले भने –‘मैले पैसा लिएको बारे सबै झुठो हो । मलाई फसाउन केही व्यक्तिले भ्रम फैलाएका हुन । कसैबाट एक रुपैया पनि लिएको छैन ।’