जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सेवा दिन थालेका छन् ।
सरसफाइ र मर्मतसम्भार गरेर मन्त्रालयहरूलाई सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी (उपसचिव) जगदीश जोशीले जानकारी दिए । त्यस्तै बढी क्षति भएका मन्त्रालयको कामकाज अन्य भवनबाट थालिएको छ । तोडफोड र आगजनीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको कामकाज रोकिएको थियो ।
बढी क्षति भएको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको भवनबाट भने तत्कालै कामकाज सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक भवनबाट कामकाज भइरहेको छ । सबैभन्दा बढी क्षति भएको प्रदेश सभा भवन भने सञ्चालनमा आउन सकेको छैन । प्रदेश सभा भवनको मर्मतका लागि छलफल चलिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । सम्भवतः तिहारपछि प्रदेश सभा भवनको कामकाज सुरु हुने जोशीले बताए ।