शनिबार, बैशाख १९, २०८३

सुदूरपश्चिम घर भएका प्रहरी थापाको हत्या गर्नेविरुद्ध मुद्दा दर्ता

काठमाडौं: जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत सुदूरपश्चिम दार्चुला घर भएका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

मुद्दामा काभ्रेको रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ (भनिने बुद्धिलाल थिङ) लाई प्रतिवादी बनाइएको छ।

प्रहरी जवान थापाका काका इश्वर सिंह थापाले भतिजाको हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान अनुसार थापालाई कुटपिट गरी निर्घात रूपमा हत्या गरिएको पाइएको छ।

उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिता दफा १७७ अनुसार ज्यान मार्ने कसुरमा जन्मकैद सजायको मागदाबी गरिएको छ। साथै, संहिता दफा २८५ अनुसार आपराधिक उपद्रवको कसुरमा पनि जन्मकैदसम्मको सजाय मागदाबी गरिएको हो।

अब जिल्ला अदालतले थुनछेक बहसपछि प्रतिवादीहरूलाई तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिनेछ।