शेरबहादुर ऐर
धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहित धनगढीका केही वडा अध्यक्षहरु अहिले गण्डकी प्रदेश भ्रमणमा छन । जेन–जी आन्दोलनका कारण अहिले स्थानीय तहहरुले पुर्ण रुपमा सेवा शुभारम्भ गर्न नसकिरहेको अवस्थामा अध्ययन भ्रमण भन्दै धनगढी नगर प्रमुख हमालसहित केही वडा अध्यक्षहरु गण्डकी भ्रमणमा रहेका हुन ।
कार्यबाहक नगर प्रमुखको जिम्मेवारी समेत कसैलाई नदिई तथा उपमहानगरपालिकाको प्रवक्ता समेत तोक्न नसकेका नगर प्रमुख हमालसहित वडा अध्यक्षहरु सेवा प्रभावित बनाई भ्रमणमा लागेको आरोप रहेको छ ।
धनगढीमा नगर प्रमुखमा निर्वाचित नहुँदा घोषणापत्र जारी गर्दै कुनै पनि सरकारी सेवा सुविधा नलिने र सरकारी गाडि पनि उपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरेका नगर प्रमुख हमालले सरकारी सवारी बाहेक सबै उपभोग गर्दै आइरहेका छन । विभिन्न समयमा देश विदेश भ्रमण गरेका नगर प्रमुख हमाल वडा अध्यक्षसहित पहिलो पटक गण्डकी भ्रमणमा गएको जनाइएको छ ।
नगर प्रमुख हमालसंगै धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर, वडा नम्बर १० का वडा अध्यक्ष शिवकुमार राना, वडा नम्बर १८ का भुवन रिजाल र वडा नम्बर १९ का वडा अध्यक्ष बाँधुराम चौधरी रहेका छन ।
हामीले भ्रमणमा रहेका वडा अध्यक्षहरुसंग सम्पर्क गर्न खोज्दा भ्रमणको उद्देश्यबारे जानकारी दिन आनाकानी गरेका छन । भ्रमणमा रहेका उनीहरु आइतबार धनगढी पुग्ने जनाएका छन । यस विषयमा जानकारी लिन धनगढीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीसंग जानकारी लिन खोज्दा प्र्रमुख प्रशासकिय अधिकृत नरेन्द्र खातीसंग सम्पर्क गर्न भनी भ्रमण उद्देश्य जानकारी दिन आनाकानी गरियो ।
प्रमुख प्रशासकिय अधिकृत खातीसंग सम्पर्क गर्न खोज्दा फोन उठेन भने नगर प्रमुख हमालसंग सम्पर्क गर्न खोज्दा मोबाइल बन्द थियो ।
धनगढीले हरेक वर्ष विविध विषयमा भ्रमण अध्ययनका नाममा रकम दुरुपयोग गर्ने गरेको महालेखा परिक्षककै प्रतिवेदनले औल्याउने गरेको छ ।
महालेखा परिक्षकको ३५ औं वार्षिक प्रतिवेदनमा भनिएको छ –‘पालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च र अनुगमन खर्चमा २३ लाख २९ हजार छ सय २५ रकम खर्च गरेको छ ।’ महालेखाका अनुसार पालिकाले हालसम्म भ्रमण खर्च पालिकाको प्रयोजनमा उच्चतम उपयोग भएका छ भनि विश्वस्त हुने अवस्था रहेन । सुदूरपश्चिम प्रदेश अन्र्तगत स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७५ तथा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम भ्रमण खर्चलाई मितव्यायी कायम गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदनमा भनिएको छ –‘तोकिएको कानुनी व्यवस्थाको पालना गर्दै भ्रमण अभिलेख खाता बनाई खर्चको सुनिश्चितता हुने व्यवस्था सहित सबै भ्रमण पश्चात भ्रमण प्रतिवेदन लिने व्यवस्था हुनुपर्दछ ।’
ज्येष्ठ नागरिकको नाममा जनप्रतिनिधिदेखि पत्रकार
धनगढी उपमहानगरपालिकाले गत शुक्रबार मुक्तिनाथ भ्रमणका लागि एकल महिलालाई विदाई ग¥यो । शुक्रवार धनगढीका एक सय ५० जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका छन् । धनगढीको एलएनचौकस्थित लक्ष्मी नारायण मन्दिरको व्यवस्थापनमा मुक्तिनाथ यात्रामा नगर प्रमुख सचिवालयका प्रतिनिधि र कर्मचारी पनि रहेको जनाइएको छ ।
नगर प्रमुख हमालसहित वडा अध्यक्षहरु गण्डकी भ्रमण भनिएको भएपनि एकल महिलाका नाममा स्वयम मुक्तिनाथ यात्रामा गएको आशय पनि देखिएको छ ।
धनगढीमा निर्वाचित भएर आएपछि नगर प्रमुख हमालले मुक्तिनाथ यात्रा शुभारम्भ गरेका थिए । उनको यो कार्यक्रम शुरुमै विवादित बनेको थियो । पहिलो वर्षमा मुक्तिनाथ यात्रामा ज्येष्ठ नागरिकसंग बालकलाई पठाउँदा दुई जना बालकको नदीमा डुबेर मृत्यु भएको थियो ।
गत वर्षको मुक्तिनाथ यात्रामा स्वयम धनगढीकी उपप्रमुख कन्दकला राना पनि रहेकी थिइन । ज्येष्ठ नागरिकका नाममा शुभारम्भ भएको यो यात्रामा पत्रकार, जनप्रतिनिधि र कर्मचारीहरुका लागि लाभदायिक बन्दै आएको छ ।
धनगढी नगर प्रमुख हमालले कर्मचारीमात्र नभइ आफु निकट व्यक्तिहरुलाई पनि नियमविपरित सेवा उपलब्ध गराएको पाइन्छ । उनले आफु निकट शारदा शाहीलाई वैदेशिक सहयोगमा आयोजित एक कार्यक्रममा लिएका थिए । उनले सो कार्यक्रममा आफनै लगानीमा लगिएको सो समयमा दाबी गरेका थिए ।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो । यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको हो ।
मुक्तिनाथ दर्शन गर्न सुरुको वर्ष १३१ जना जेष्ठ नागरिकलाई पठाइएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १४० जना, आर्थिक वर्ष २०८१÷८२ मा १३१ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षसम्म ५५२ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएको जनाएको छ ।
उपमहानगरपालिकाले मुक्तिनाथ यात्राको दौरान पोखरा, बागलुङ, म्याग्दी र चितवनका धार्मिक स्थलको समेत दर्शन गराउने व्यवस्था मिलाउने गरेको छ । उपमहानगरले तीर्थालुहरूलाई तनहुँ र चितवनमा पर्ने देवघाट र नवलपरासीमा पर्ने शाश्वत धामको समेत दर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।