शनिबार, बैशाख १९, २०८३

धनगढीको चौधरी हार्डवयरमा पाँच लाख नगदसहित चोरी, सीसी क्यामेराको हार्ड डिस्क पनि गायब

 

धनगढी । धनगढीको चौधरी हार्डवयर एण्ड सप्लायर्समा चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ को दक्षिणकाली मार्गमा रहेको चौधरी हार्डवयर एण्ड सप्लायर्समा गएराति चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले हार्डवयरमा गएराति चोरी भएको बताए । उनकाअनुसार प्रारम्भिक रुपमा पाँच लाख रुपैयाँ नगद र सोही बराबरको सामान चोरी गरिएको छ तर मुचुल्का संकलन गर्ने काम भइरहेकाले यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

चौधरी हार्डवयरका प्रबन्ध निर्देशक जयप्रकाश चौधरीले जस्ता पाताले छाएको पसलको छानोबाट गोदाममा पसेर चोरी गरिएको बताए । उनले नगद पाँच लाखसहित ठूलो परिमाणमा महत्वपूर्ण सामान चोरी भएको बताए ।

चौधरीकाअनुसार गोदाममा जडान गरिएको सीसीटीभी क्यामेराको हार्ड डिस्क समेत गायब पारिएको छ । हार्डवयरमा चोरी भएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।