शनिबार, बैशाख १९, २०८३

गतिशील पार्टीमा १६ वर्षभन्दा बढी सदस्य बन्न नपाइने, पदाधिकारीले चुनाव लड्न नपाउने

धनगढी — लोकतान्त्रिक गतिशील पार्टी नेपालले आफ्ना सदस्यता र पदाधिकारीसम्बन्धी कडा नीतिगत प्रावधान सार्वजनिक गरेको छ । पार्टीले सदस्यता अधिकतम १६ वर्षसम्म मात्र रहने व्यवस्था गरेको छ । १६ वर्ष पूरा भएपछि सदस्यता स्वतः अन्त्य हुने र नविकरण नहुने प्रावधान पार्टीले आफ्नो विधानमै समावेश गरेको बताइएको छ ।  धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष डा. दिनेश पर्साइले उक्त निर्णयको जानकारी दिएका हुन् । उनका अनुसार, यस व्यवस्थाले पार्टीमा निरन्तर नवीकरण र नयाँ नेतृत्वको अवसर सुनिश्चित हुनेछ । “हामी पुरानोलाई मात्र होइन, नयाँ पुस्तालाई पनि समान अवसर दिने पक्षमा छौं । त्यसैले सदस्यता १६ वर्षभन्दा बढी रहँदैन,” पर्साइले भने ।

त्यस्तै, पार्टीका पदाधिकारीहरूले कुनै पनि तहको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा भाग लिन नपाउने नियम पनि लागू गरिएको अध्यक्ष पर्साइले स्पष्ट पारे । उनका अनुसार, यस कदमले संगठन र निर्वाचनबीचको शक्ति सन्तुलन कायम गर्न मद्दत गर्नेछ । “पार्टी र चुनावी प्रणाली फरक हुनुपर्छ । पार्टी चलाउनेले उम्मेदवार नबन्ने हुँदा निष्पक्षता रहन्छ,” उनले भने । पार्टीले आफूलाई लोकतान्त्रिक मूल्य र विधिमा आस्था राख्ने प्रगतिशील दलका रूपमा प्रस्तुत गरेको छ । अध्यक्ष पर्साइका अनुसार, गतिशील पार्टीले वर्तमान संविधान र व्यवस्थाभित्र रहँदै सुशासन, रोजगार र पारदर्शी शासनका एजेन्डा अघि सारेको छ ।

उनले पार्टीले कुनै पनि हालतमा २० प्रतिशतभन्दा कम मत पाए सरकारमा सहभागी नहुने स्पष्ट नीति लिएको जानकारी पनि दिए । “जनताको विश्वास बिना सरकारमा जानु नैतिकताविपरीत हो । हामी जनमतको बलमा मात्रै सरकारमा जानेछौं,” उनले भने । पार्टीले विचार मिल्ने दलहरूसँग सहकार्यको ढोका खुला रहेको पनि जनाएको छ । अध्यक्ष पर्साइका अनुसार, गतिशील पार्टीका एजेन्डा जनताले मन पराइरहेको र पार्टी क्रमशः जनताको रोजाइमा पर्न थालेको दाबी गरिएको छ । पार्टीमा एक अध्यक्ष ५ महासचिव, एक कोशाध्यक्ष सहित २९ सदस्य रहने छन् ।