शेरबहादुर ऐर
धनगढी– कैलालीको धनगढीस्थित होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।
यस सनराइज टेलिभिजनमा ‘क्यासिनो नियम विपरित सञ्चालन, नेपाली निर्वाध प्रवेश’ शिर्षकमा समाचार प्रशारण गरेपछि शुक्रबार प्रशासनले अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले क्यासिनोमा अनुगमन गर्दा नेपाली प्रवेश गरेको नपाइएको बताए । उनले भने –‘क्यासिनोमा अनुगमन गर्दा नेपाली प्रवेश गराइएको भेटिएन । क्यासिनोमा लाइभ जुवाँ कहिले काँही हुने गरेको रहेछ ।’
क्यासिनो नियमावली अनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठुला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्याउँदै धनगढीमा सीमा क्षेत्रनजिकै होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले ठुलो क्यासिनो दाबी गर्दै जुवातास खेलाइरहेको स्वयम सञ्चालकले स्वीकार गरेका थिए ।
होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले दैनिक नभई सातामा जुवातास खेलाउने गरेको क्यासिनोका प्रबन्धक सुनील श्रेष्ठले बताए । उनले भारतीय नागरिकलाई मध्ये नजर गरेर दैनिक नभई सातामा जुवातास खेलाउने गरेको स्वीकार गरे । उनले भने –‘हामीले वार्षिक एक करोड पर्यटन विभागमा राजश्व तिरिरहेका छौं । धनगढी उपमहानगरपालिकामा पनि वार्षिक ५० हजार राजश्व तिरिरहेका छौं । यो मिनि क्यासिनो होइन । ठुलो क्यासिनो हो ।’
धनगढीमा अहिलेसम्म चार तारे होटलसमेत खुल्न सकेको छैन । अहिले होटल सनलाइट र चौलानी होटल स्तरोन्नति गर्दै पाँच तारे होटल बनाउने तयारीसहित लागि रहेको छ । होटल साथीले पनि आफुलाई स्तरोन्नति गराउने तयारी गरेको थियो ।
क्यासिनोले दुई÷तीन महिना अघि नेपालीलाई पनि निर्वाध क्यासिनोमा प्रवेश गराइरहेको प्रमाण यस सनराइज टेलिभिजनसंग सुरक्षित रहेको छ । हामीसंग प्राप्त प्रमाणमा प्रलोभनमा पारि क्यासिनोले नेपाली प्रवेश गराइरहेको थियो ।