कैलालीको धनगढी उपमहानगरपालिका–९ बङ्गरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको छ। बेलायतमा रहेका नेपालीहरूले तिहारका लागि अर्डर गरेपछि करिब तीन सय माला तयार गरी विदेश पठाइएको व्यावसायिक फूल खेतीकर्ता रोशन साउदले जानकारी दिएका छन्।
साउद, दशरथ साउद (अछाम) र भास्कर पङ्गेनी (कपिलवस्तु) मिलेर विगत चार वर्षदेखि बङ्गरामा २२ कट्ठा जग्गा भाडामा लिएर पुष्प खेती गर्दै आएका छन्। उनीहरूले धनगढीसहित दाङ, बाँके कोहलपुर र कपिलवस्तुमा करिब नौ बिघा जमिनमा फूल तथा अन्य कृषि बाली उत्पादन गर्दै आएका छन्।
तिहार नजिकिएसँगै सयपत्री फूल बारीमा ढकमक्क भइसकेको छ। फूल माला बनाउने कार्यमा ६०–७० जनाले रोजगारी पाएका छन्। यस वर्ष तिहार छिट्टै परेको र उत्पादन राम्रो भएकाले आर्थिक फाइदा हुने अपेक्षा गरिएको छ।
दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरबाट सयपत्री फूल प्रतिकिलो ५०० रुपैयाँ र माला प्रतिमाला १००–२०० रुपैयाँमा बिक्री भइरहेको छ। यस पहलले स्थानीय कृषकलाई आम्दानीको स्रोत दिएको छ भने विदेशमा रहेका नेपालीबीच पनि स्थानीय उत्पादनको माग बढाएको छ।