शेरबहादुर ऐर
धनगढी– कैलालीको धनगढीस्थित होटल साथीमा रहेको किङ्स लञ्च गेमिङ क्लबले खुलेआम जुवाँतास खेलाउदा समेत जिल्ला प्रशासन कार्यालय संरक्षणमा रहेको पाइएको छ ।
नेपाली प्र्रवेश नगराएको जिल्ला प्रशासनको छड्के अनुगमनमा भेटिएको भएपनि जुवाँतास खेलाइरहेको क्यासिनोबारे प्रशासन मौन रहेको देखिएको हो ।
क्यासिनो नियमावली अनुसार सिसिटिभी छ महिनासम्म भण्डारण गर्न सक्ने र त्यस्तो अभिलेखको सुरक्षा गर्न छुट्टै कक्षको व्यवस्था भएको हुनुपर्ने उल्लेख छ । तर, प्रशासनले सो फुटेज कुनै अनुसन्धान नगरि एक दिनको छडके अनुगमनले कुनै अवैधानिक कार्य नभएको दाबी गरी सोही क्यासिनोको संरक्षण गरेको छ । सोही ऐनमा क्यासिनो सञ्चालनको लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेको हुनुपर्ने उल्लेख रहेको छ । तर, कैलालीमा विगत १३ वर्षदेखि सोही क्यासिनोले नियमविपरित जुवाँतास खेलाउँदा समेत कैलाली जिल्ला प्रहरी प्रमुख मौन बस्नुले उनीहरुकै संरक्षण रहेको देखिन्छ ।
क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको मेटल, फेस, रेटिना वा थम्ब स्क्यानिङ वा अन्य विधिबाट सुरक्षा जाँच गर्ने बायोमेट्रिक प्रणालीको व्यवस्था भएको हुनुपर्ने उल्लेख छ । तर, सो क्यासिनोले यो व्यवस्थाको पनि सोझै उल्लंघन गरेको छ । क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको आधुनिक प्रविधिमार्फत अभिलेख राख्ने प्रणालीको व्यवस्था भएको हुनुपर्ने औल्याएको छ । तर, प्रशासनले सो अभिलेख माग समेत नगरि क्यासिनोले नेपाली प्रवेश नगराएको दाबी गर्नु सोही क्यासिनोको संरक्षण गरेको देखिन्छ ।
यस सनराइज टेलिभिजनमा ‘क्यासिनो नियम विपरित सञ्चालन, नेपाली निर्वाध प्रवेश’ शिर्षकमा समाचार प्रशारण गरेपछि शुक्रबार प्रशासनले अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले क्यासिनोमा अनुगमन गर्दा नेपाली प्रवेश गरेको नपाइएको बताए । उनले भने –‘क्यासिनोमा अनुगमन गर्दा नेपाली प्रवेश गराइएको भेटिएन । क्यासिनोमा लाइभ जुवाँ कहिले काँही हुने गरेको रहेछ ।’
फरक प्रेस नामक सञ्चार अनुसार धनगढीको एक जुवाडे समूहले किङ्स लाउन्ज गेमिङ क्लबमा ५० लाख भाडा तिर्ने गरि आफूले जुवा खेलाउन ठाउँ दिन भनेको उल्लेख छ । तर, सो प्रस्ताव अस्वीकार भएपछि उनीहरूले धनगढीकै मिडियालाई प्रयोग गरेर क्यासिनो बदनाम गराउन लागिपरेको क्यासिनो सञ्चालकको भनाई उल्लेख गरिएको छ । हामीलाई प्राप्त तथ्य अनुसार सो क्यासिनोले नेपाली प्रवेश गराई जुवाँतास खेलाइरहेको थियो । समाचार प्रशारण पश्चात नेपाली प्र्रवेश नगराएपनि जुवाँतास खुलेआम हुँदा समेत प्रशासनले सो कार्यमा रोक लगाउन सकेको छैन । सोही सञ्चालकको दाबी मान्ने हो भने क्यासिनोले जुवाँतास खुलेआम खेलाइरहेको देखिन्छ ।
क्यासिनो नियमावली अनुसार –‘ठुलो क्यासिनोका लागि तीन करोड रुपैयाँ र सानो क्यासिनोका लागि एक करोड पचाँस लाख रुपैयाँ इजाजत दस्तुर तिनुपर्ने हुन्छ ।’
क्यासिनो सञ्चालकले एक करोड पर्यटन विभाग र ५० लाख धनगढी उपमहानगरपालिकालाई इजाजत दस्तुर तिर्दै आएको छ । जसअनुसार सो क्यासिनो सानो हो । क्यासिनो नियमावली अनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । तर, सो क्यासिनोले सो नियमविपरित जुवाँतास खेलाउँदा समेत प्रशासन मौन रहेको देखिन्छ ।
नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठुला क्यासिनो– जहाँ लाइभ जुवाँ नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवाँ खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्याउँदै धनगढीमा सीमा क्षेत्रनजिकै होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले ठुलो क्यासिनो दाबी गर्दै जुवातास खेलाइरहेको स्वयम सञ्चालकले स्वीकार गरेका थिए ।
होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले दैनिक नभई सातामा जुवातास खेलाउने गरेको क्यासिनोका प्रबन्धक सुनील श्रेष्ठले बताए । उनले भारतीय नागरिकलाई मध्ये नजर गरेर दैनिक नभई सातामा जुवातास खेलाउने गरेको स्वीकार गरे । उनले भने –‘हामीले वार्षिक एक करोड पर्यटन विभागमा राजश्व तिरिरहेका छौं । धनगढी उपमहानगरपालिकामा पनि वार्षिक ५० हजार राजश्व तिरिरहेका छौं । यो मिनि क्यासिनो होइन । ठुलो क्यासिनो हो ।’
धनगढीमा अहिलेसम्म चार तारे होटलसमेत खुल्न सकेको छैन । होटल साथीले पनि आफुलाई स्तरोन्नति गराउने तयारी गरेको थियो । तर, अहिलेसम्म संरचनासमेत बनाउन सकेको छैन । पाँच तारे होटलबाहेक कुनै पनि सानो क्यासिनोले खुलेआम जुवाँ खेलाउन पाउँदैन ।
क्यासिनोले दुई÷तीन महिना अघि नेपालीलाई पनि निर्वाध क्यासिनोमा प्रवेश गराइरहेको प्रमाण यस दैनिकसंग सुरक्षित रहेको छ । हामीसंग प्राप्त प्रमाणमा प्रलोभनमा पारि क्यासिनोले नेपाली प्रवेश गराइरहेको थियो ।
क्यासिनो भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरूकोसमेत भिड लाग्ने गरेको थियो । जसले गर्दा कतिपय नेपाल परिवारहरूको बिल्लिबाठ हुन पुगेका छन् । क्यासिनोले सञ्चालन गरेको तास जुवाबाट धनगढीका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् ।
क्यासिनोमै म्यारिज, पप्लु र फलासको जुवाबाट धनगढीका सुन व्यवसायी गरिरहेका व्यापारी घर न घाटका बनेका छन् । हामीलाई प्राप्त प्रमाणका आधारमा क्यासिनोमा नेपाली व्यवसायीलाई आकर्षण गराउन विभिन्न प्रलोभनमा पारिएको थियो ।
विगतमा धनगढीका व्यापारीहरु क्यासिनो खेल्न कैलालीदेखि नेपालगञ्ज जाने गर्थे । तर, अहिले केही व्यवसायीहरु सोही क्यासिनोमा पुगेर सम्पत्ति नास भएको बताउँछन । एक व्यापारीले भने –‘कहिले आधा पैसा देउ त, कहिले भोली पर्सि दिनु तथा नयाँ–नयाँ आकर्षण अफर रहेको लगायत ह्वाटएप्समा म्यासेज गरि बोलाउने कार्य क्यासिनोबाट भयो । यहाँका धेरै कमाउने व्यापारीहरुलाईनै सोही क्यासिनोले निशाना बनाएको देखिन्छ ।’
प्रबन्धक सुनील श्रेष्ठले जुवातास खेलाउने गरेको स्वीकार गरेको भएपनि नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने गरेको विषयमा अस्वीकार गरे ।
क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट पाँच किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । नेपालका क्यासिनोहरुले यो मापदण्ड मानेका छैनन् ।
कैलाली प्रशासनले अनुगमन गर्दा अभिलेखहरु नमाग्नु आफैमा प्रशासनको संरक्षण देखिन्छ । नेपाली प्रवेश गरेको सिसिटिभी फुटेज किन मागिएन ? खुलेआम जुवातास खेलाइरहेको क्यासिनोको गलत कार्य किन रोकिएन ? क्यासिनोले बैधानिक हो भने कुन कारण हो खुलाउन सकेको छैन ।
केही सञ्चारमाध्यममा आफुलाई बदनाम गराइएको औल्याएको छ । जुवाँतास खेलाउनु गलत होइन र ? कुनै व्यक्तिले आवेगमा आफुविरुद्ध बदनाम गराइएको सञ्चालकले बताएका छन । विधिसंवत कार्य गरे किन बदनाम कसैले गराउँछ ? रोजगार दिए, राजश्व तिरे र पर्यटन भित्र्याए भन्दैमा गलत कार्य गर्न पाइन्छ र ?