बिहिबार, बैशाख १७, २०८३

धनगढीमा फूलको अभाव, किसानले पाए मेहनतको प्रतिफल

धनगढी – धनगढीमा यस वर्ष तिहार पर्वका अवसरमा फूलको अभाव देखिएको छ। स्थानीय किसानहरूले उत्पादन गरेको सम्पूर्ण फूल भाइटीकाको एक दिन अगाडि नै बिक्री भएपछि बजारमा फूल किन्न पाइँदैन।
धनगढी उपमहानगरपालिकाका नौ जना किसानले यस वर्ष करिब ६० क्विन्टलभन्दा बढी फूल उत्पादन गरेका थिए। तर, माग उच्च हुँदा उत्पादन भएको सबै फूल बुधबार दिउँसोसम्ममा नै बिक्री सकिएको हो। उपमहानगरपालिकाको प्रवेशद्वारमा रहेको फूल बिक्री केन्द्रमा बुधवार दिउँसोदेखि नै फूल अभाव भएको किसानहरूले बताएका छन्।
धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित न्यू बन्डोली नर्सरी कन्सर्नका सञ्चालक शङ्करसिंह बिष्टले आफ्नो नर्सरी समूहले उत्पादन गरेको फूल पूर्ण रूपमा बिक्री भएको बताए। उनका अनुसार, उनले २२ कट्ठा क्षेत्रफलमा फूलखेती गरेका थिए र यस वर्ष करिब सात लाख रुपैयाँको फूल बिक्री भएको छ।

बिष्टले भने, “समूहका अन्य सदस्यहरूले पनि आफ्नै तरिकाले फूल बिक्री गर्नुभयो। सबैका स्टलमा फूल सकिए। कोपिला समेत बिक्री भए। यो वर्षको बिक्री निकै सन्तोषजनक रह्यो।”

धनगढीमा प्रत्येक वर्ष तिहार नजिकिँदै गर्दा स्थानीय किसानहरू गेंदा, सयपत्री, गोदावरी लगायतका फूल व्यावसायिक रूपमा उत्पादन गर्छन्। यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन राम्रै भए पनि बजारमा माग झन् बढी भएको किसानहरूको भनाइ छ।

स्थानीय उत्पादन सकिएपछि फूल किन्ने उपभोक्ताहरूले बजारमा उच्च मूल्य तिर्नुपरेको गुनासो गरेका छन्। फूल उत्पादक किसानहरूको भनाइमा, स्थानीय उत्पादनले माग पूरा गर्न नसक्ने भएकाले आगामी वर्ष उत्पादन क्षेत्र विस्तार गर्ने तयारी भइरहेको छ। बिष्टले भने, “हामीले यस वर्षको अनुभवबाट सिकेका छौं। अर्को वर्ष अझ बढी क्षेत्रफलमा फूलखेती गर्ने योजना बनाएका छौं।”

धनगढीमा तिहार नजिकिँदै गर्दा फूलको अभावले बजारमा रौनक त घटाएको छ, तर किसानहरूको अनुहार भने खुसीले चम्किएको छ।