भारतको उत्तर प्रदेश, लखिमपुर खीरी जिल्लाअन्तर्गत पर्ने भारतीय सशस्त्र सीमा बल (SSB) तेस्रो बटालियन, खक्रौलामा मिति २०८२ कार्तिक ८ गते नेपाल–भारतबीच मासिक सीमा समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा भारतीय पक्षबाट एसएसबि तेस्रो बटालियनका कमान्डेन्ट देवानन्द सहभागी भएका थिए भने नेपाली पक्षबाट जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण, धनगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित, र इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी सहित दुबै देशका ९ जना अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा दुबै देशका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य गर्ने सहमति गरिएको छ।
जस अन्तर्गत सीमा क्षेत्रबाट हुने लागू औषध तस्करी नियन्त्रण तथा सूचनाको आदान–प्रदान गर्ने, आपराधिक घटनामा तत्काल सूचना आदान–प्रदान र अनुसन्धानमा सहयोग गर्ने, सीमा क्षेत्रमा हुन सक्ने अपराधहरू घटाउन नियमित समन्वय र सहकार्य गर्ने, मानव बेचबिखन नियन्त्रण र पीडितको उद्दार तथा पुनःस्थापनामा सहकार्य गर्ने,नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको अनुगमन र अतिक्रमण रोक्न दशगजा क्षेत्र कायम गर्न आवश्यक समन्वय गर्ने, नक्कली नोट कारोबार नियन्त्रणमा दुबै पक्षले सूचनाको आदान–प्रदान र सहकार्य गर्ने लगाएतका रहेका छन।