बाजुरा । शनिबार बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको मृत्यु भएको छ । मार्तडी कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा घाइते भएका बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बूढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीया लक्ष्मी मल्ललाई थप उपचारका लागि पठाइएको सूचना अधिकारी गिरीले बताए ।
यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उहाँकी छोरी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडि गएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि चालक फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।