धनगढी: सहकारीका अध्यक्ष सन्तराम चौधरीका अनुसार कम्पनीले गाउँमै आइ चार हजार ९४५ रुपैयाँ प्रतिक्विन्टलका दरले किसानबाट गहुँको बीउ खरिद गरेको थियो । कुल १२ लाख १३ हजार ९९७ रुपैयाँमध्ये हालसम्म तीन लाख ९५ हजार ७१९ रुपैयाँ भुक्तानी नपाएको उनले बताए । पटक–पटक माग गर्दा पनि कम्पनीले रकम नदिएको अध्यक्ष चौधरीको भनाइ छ ।
उनका अनुसार कम्पनीले सहकारीमार्फत् किसानलाई भुक्तानी दिने सहमति गरिएको थियो । बैशाखमा गहुँको बजार मूल्य चार हजार आठ सय रुपैयाँ रहँदा कम्पनीले १५ प्रतिशत बढी मूल्य दिने प्रस्ताव गरेपछि किसानले सहकारीमार्फत् बीउ बिक्री गरेका थिए ।
तर, छ महिनासम्म रकम नपाउँदा खेतीपाती गर्न गाह्रो परेको किसान सुकराम चौधरीको गुनासो छ । ‘थप मूल्य पाउने आशामा बीउ उत्पादनमा लाग्यौं, तर भुक्तानीमा ढिलाइ हुँदा अहिले समस्यामा छौं,’ उनले भने । ‘यसअघि पनि धानको बीउ उत्पादन गर्दा उग्रतारा बीउ कम्पनीले २० बोरा धानको मूल्य नै दिएको थिएन ।’
अपिहिमाल एग्रो एण्ड लाइभस्टक कम्पनी प्रालिका लोकेश भट्टले करिब ८–१० प्रतिशत बीउ गहुँको भुक्तानी बाँकी रहेको स्वीकार गरे । उनले कम्पनीको खाता बन्द भएकाले रकम दिन नसकेको तर अहिले खाता पुनः खुला गर्ने तयारी भइसकेकाले छिट्टै किसानलाई बाँकी रकम भुक्तानी गरिने बताए ।