बिहिबार, बैशाख १७, २०८३

‘नृत्यको ताण्डव’मा राधिका चौधरी पहिलो, सुदूरपश्चिमको नृत्यलाई राष्ट्रिय स्तरमा पुर्‍याउने संकल्प

 कैलाली, कार्तिक १५। सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई नृत्यमार्फत उजागर गर्ने उद्देश्यसहित शनिबार बुद्ध मन्दिरको प्राङ्गणमा ‘नृत्यको ताण्डव’ शीर्षकमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। “सुदूरपश्चिमको नृत्यको आवाज” भन्ने स्लोगनसहित आयोजित कार्यक्रममा २२ जना नृत्य कलाकारले प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रमको सभापतित्व द प्यासन डान्स स्टुडियोका सञ्चालक सुनिल खत्रीले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल चलचित्र नृत्यकार संघका केन्द्रीय सदस्य तथा दीप भिजन फिल्म एण्ड आर्ट एकेडेमीका सञ्चालक दीप श्रेष्ठ हुनुहुन्थ्यो।
श्रेष्ठले सुदूरपश्चिमका नृत्य कलाकारहरू एकजुट भएर अघि बढे राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरसम्म सहजै पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राज्यले यस्ता प्रतिभालाई संरक्षण गर्न सके नेपाललाई विश्वभर नृत्य र संस्कृतिका माध्यमबाट चिनाउन सकिने बताउनुभयो।

कार्यक्रमका प्रमुख निर्णायक तथा ग्रान्ड जज भारतका चर्चित नृत्य कलाकार सुजन मार्पा तामाङ हुनुहुन्थ्यो। तामाङले भारतका चर्चित टिभी शो ‘डान्स प्लस’ र ‘डीआईडी’ मा आफ्नो प्रतिभा देखाइसक्नुभएको छ। उहाँले सुदूरपश्चिमका कलाकारहरूमा अपार सम्भावना रहेको बताउँदै आगामी दिनमा बालबालिकाका लागि छुट्टै प्रतिस्पर्धा सञ्चालन गर्ने योजना समेत सार्वजनिक गर्नुभयो। उहाँले १५ जनालाई पाँच–पाँच हजार रूपैयाँका दरले प्रोत्साहन पुरस्कार दिने र आगामी संस्करणमा प्रथमलाई १ लाख रुपैयाँको पुरस्कारको व्यवस्था गर्ने जानकारी दिनुभयो।

कोरियोग्राफी प्रतियोगिताका नतिजा:
प्रथम: राधिका चौधरी नगद रु. ३०,०००, ट्रफी र प्रमाणपत्र
द्वितीय: ममता तिमल्सिना नगद रु. १५,०००, ट्रफी र प्रमाणपत्र
तृतीय: लक्ष्मण थापा नगद रु. ८,०००, ट्रफी र प्रमाणपत्र

कार्यक्रममा अन्त्यतिर ‘ब्याटल’ समेत गरिएको थियो, जसमा कमल रावलले प्रथम भई रु. ७,००० प्राप्त गरे भने हेमन्त शाहीले द्वितीय भई रु. ३,००० पुरस्कार प्राप्त गरे।

‘नृत्यको ताण्डव’ वान डे डान्स कम्पिटिसन धुमधामका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रमले सुदूरपश्चिमको नृत्य प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने आशा व्यक्त गरिएको छ।