काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएको हतियार र गोलीसहित एक जना राजा तामाङ भन्ने व्यक्तिलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार १३ असोजको साँझ काठमाडौं–७ लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु आजा घरको बाहिर प्लाष्टिकको कुर्सीमाथि रहेको कोला झोलाभित्र ९७२ डब्ल्यूके ६८३०१ ०३२१८९ नम्बर उल्लेख भएको ग्यास गनको बट र नालको भाग बरामद भएको थियो।
उक्त हतियार बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा झोला काभ्रे महाभारत गाउँपालिका–१ घर भएका गोकर्णेश्वर–३ बस्ने २द्द बर्षिय राजा तामाङ भनिने वाङ्सु लामाले राखेको प्रहरीले पत्ता लगाएको थियो।
सीआईबीले दिएको थप जानकारीअनुसार १४ असोज बेलुका सवा ५ बजे गोकर्णेश्वर नगरपालिकास्थित माइती नेपाल नजिक राजालाई पक्राउ गरी सोधपुछ गर्दा आफूले राखेको बयान दिए। सो क्रममा डेरामा पुगी ९एमएम, ९एक्स१९, एमएफएस समेत लेखिएका गोली तीन वटा फेला पारिएको हो।
उक्त हतियार र पक्राउ गरिएका राजालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।