धनगढीस्थित राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलले आयोजना गर्न लागेको अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता यस वर्ष ‘Balmiki +2 Rising Star Premier League–2082’ नामकरण गरिएको छ। प्रतियोगिताको शीर्ष प्रायोजकको रूपमा बाल्मीकि प्लस टु क्याम्पस रहने भएको छ।
एक कार्यक्रमका बीच बाल्मीकि प्लस टु क्याम्पसका अध्यक्ष दिनेश भण्डारी र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रायोजन सम्झौता गरेका हुन्। उक्त सम्झौतासँगै बाल्मीकि प्लस टु क्याम्पस प्रतियोगिताको मुख्य प्रायोजक बन्ने पक्का भएको हो।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले शिक्षा र खेलकुदबीचको गहिरो सम्बन्धबारे जोड दिँदै विद्यार्थीमा खेल भावना, समूहमा काम गर्ने क्षमताको विकास र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता प्रतियोगिता अपरिहार्य रहेको बताएका थिए।
विद्यालयका प्रबन्ध निर्देशक शाहीले बालबालिकामा शैक्षिक उत्कृष्टतासँगै खेलकुदप्रतिको रुचि र दक्षता बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए। उनले विद्यालयले विगतका वर्षहरूमा पनि खेलकुदका माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको स्मरण गराए।
सो अवसरमा बाल्मीकि प्लस टु क्याम्पसका अध्यक्ष भण्डारीले विद्यालय स्तरमै यस्ता खेल प्रतियोगिता आयोजनाले प्रतिभा पहिचान र विद्यार्थीको व्यावहारिक सीप विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले बाल्मीकि प्लस टु क्याम्पसले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि सक्रिय सहभागिता जनाउँदै विद्यार्थीहरूलाई प्रेरित गर्ने बताए।