बिहिबार, बैशाख १७, २०८३

धनगढी साइकल अभियान उल्टो–फेरियोः म्याद सकिएको विस्कुट र कब्जा गरेको लेन

शेरबहादुर ऐर
धनगढी — धनगढी उपमहानगरपालिकाले शनिबार आयोजना गरेको साइकल र्याली प्रदर्शनले उल्टै नगरपालिकालाई विवादमा ल्याएको छ। युएनडिपीको सहयोगमा गरिएको कार्यक्रमका क्रममा म्याद नाघेको गुणस्तरहिन विस्कुट वितरण गरिएको खुलेको छ भने र्यालीका लागि निर्माण गरिएका साइकल लेन स्वयं मोटरसाइकल, भ्यान, कार र टिप्परले कब्जा गरेको देखियो।

साइकल यात्रामा सहभागी सर्वसाधारणले २०२४ सालमै निर्मित म्याद गुज्रिएका विस्कुट पाएको गुनासो गरेका छन्।
नियमित साइकल यात्रु कोपिला कुँवर भन्छिन्—
“साइकल लेन भनिएको छ, तर सवारी पार्किङ भएको छ। उपमहानगरले बाँडेको विस्कुट नै गुणस्तरहिन छ।”

उनी भन्छिन्, उपमहानगरपालिकाले नै यस्ता सामग्री वितरण गर्दा नियमन र अनुगमन शून्य जस्तै छ।
“मुख्य सडकभन्दा घर–घरबाट साइकल र्याली सुरु गर्नुपर्छ, चर्चा गर्न प्रदर्शन हैन,” कुँवरको आरोप।

र्याली अभियन्ता भरत रावल पनि लेनको अवस्था प्रति निराश छन्—
“लेन छ, तर प्रयोगमा छैन। मोटर सवारीका लागि पार्किङजस्तै बनेको छ।”

मेयर हमालमाथि ‘सस्तो लोकप्रियता’को आरोप बलियो

नगर प्रमुख गोपाल हमाल पछिल्लो समय सडकमै राजनीति गर्दै नाम परिवर्तन र प्रचारमुखी गतिविधिमा मात्रै लागेको आरोप स्थानीयले लगाउँदै आएका छन्।
पार्क मोडलाई ‘जेन–जी चौक’, क्याम्पस रोडलाई ‘गुरही चौक’, धनगढी चौराहालाई ‘पृथ्वी चौक’ बनाउँदै उनले निरन्तर प्रचार खोजेको आरोप छ।

साइकल लेनमा सवारी रोक्न नसक्नु र र्यालीमै गुणस्तरहिन सामग्री वितरण गर्नुले उपमहानगरपालिकाको कमजोरी र लापरवाही झनै उजागर भएको नागरिकको धारणा छ।