धनगढी: जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका इकाइहरूले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइन, चार वटा मोटरसाइकल र एक महिलासहित नौ जनालाई पक्राउ गरेका छन्।
२८ गते धनगढी उप–महानगरपालिका–३ त्रिनगर व्यारेज क्षेत्रमा शंका लागेर रोकेर चेकजाँच गरिएको म २ प ३१०७ नम्बरको मोटरसाइकल चालक गणेशबहादुर डागी र पछाडि सवार डम्मरी भण्डारी तथा से ७ प ५५२४ नम्बरको मोटरसाइकल चालक डम्मर बोहराको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन फेला परेपछि उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, भजनी नगरपालिका–३ कुसमघाटमा सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकल चालक रिजन मगर र सवारीका आकाश चौधरीलाई चेकजाँच गर्दा चालकले लगाएको हेलमेटभित्र लुकाइ–छिपाइ राखिएको ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो। दुवैजनालाई मोटरसाइकलसहित पक्राउ गरिएको छ।
यस्तै, गोदावरी नगरपालिका–५ गेटामा से ६ प ७५९४ नम्बरको मोटरसाइकल चालक विजय बिष्ट र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला परेपछि उनीहरूलाई पनि मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
लम्की–चुहा नगरपालिका–६ पिपरकोटीबाट हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा कमल जैसी र लक्ष्मण बोहराको साथबाट थप १५० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो।
सामूहिक रूपमा विभिन्न स्थानबाट बरामद गरिएको हेरोइनको वजन २० ग्राम ६१० मिलिग्राम पुगेको छ। पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।