बिहिबार, बैशाख १७, २०८३

जिल्लास्तरिय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु

धनगढी– जिल्लामा स्वास्थ्य सेवा सुधार र विकासका लागि आयोजित वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबारदेखि धनगढीमा शुरु भएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रमको जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिकाकुमारी चौधरीले भुलले बोटमा पानी हालेर समुदघाटन गरेकी थिइन ।

सो अवसरमा बोल्दै उनले स्थानीय तहमा कार्यरत स्वयंसेवकहरूको गुनासो बढ्दो रहेको भन्दै मूल्यांकन र सेवा–सुविधा पर्याप्त नहुँदा मनोबल कमजोर भएको बताइन् । उनले भनिन –‘स्वयमसेवकाहरु सेवा सुविधामा विभेदमा परेको गुनासो आउँछ । स्वास्थ्य क्षेत्र सुधारमा चुनौतिहरु छन । त्यसको निकासका लागि पनि व्यापक छलफल हुनुपर्र्छ ।’

गोष्ठीमा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र कार्की ले नतिजामुखी लगानीको आवश्यकता औंल्याउँदै स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउन संस्थागत सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए ।

उनले विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिवद्धता पर्याप्त बजेट अभावका कारण पूरा गर्न नसकिएको उल्लेख गर्दै, योजनाहरू व्यवहारिक तथा दीर्घकालीन हुनुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक अपरिहार्य भएको र स्वास्थ्य, पोषण तथा सरसफाइमा विशेष ध्यान दिए जनस्वास्थ्य सूचकांक सुधार हुने बताए । ‘स्वस्थ र योग्य नागरिकबाटै सबै क्षेत्रको विकास सम्भव छ,’ उनले भने ।

स्वास्थ्य कार्यालय कैलाली प्रमुख रमेश कुँवरको अध्यक्षतामा शुरु भएको गोष्ठी मंगलबारसम्म हुनेछ । सो गोष्ठीमा कैलालीका १३ वटै पालिकाले गरेका असल अभ्यास, आधारभुत स्वास्थ्यलाई प्रभावकारी बनाउन देखिएका समस्या, चुनौति, समाधान लगायतका बारेमा छलफल र समिक्षा गरिने र उत्कृष्ट स्वास्थ्य संस्था, कर्मचारीहरु छनौट गरि सम्मानित गरिने छ ।