बिहिबार, बैशाख १७, २०८३

चैतन्य पाठशालामा स्क्रम्बल प्रतियोगिता सम्पन्न

धनगढी: चैतन्य पाठशाला धनगढीमा शनिवार तेस्रो जिल्ला स्तरीय स्क्रम्बल प्रतियोगिता तथा दशौँ एसक्युसी कन्भेन्सन सम्पन्न भएको छ।

कैलाली, कञ्चनपुर र डोटीका गरी १३ वटा विद्यालयको सहभागिता रहेको स्क्रम्बल प्रतियोगिता प्रतिस्पर्धात्मक, रोचक र शैक्षिक वातावरण झल्किने किसिमको थियो। प्रतियोगिताको निर्देशक सुमन श्रेष्ठ र सहायक निर्देशक नरेश रावल रहेका थिए।

प्रतियोगितामा स्क्रम्बलतर्फ कञ्चनपुर, बैलौरीको वात्सल्य विद्या निकेतनबाट विलक्षण पौडेल प्रथम भए भने सोही विद्यालयका अनुराग विष्ट द्वितीय हुँदा तृतीय स्थान भने ब्राइट वे पब्लिक स्कुलका निखिल रोकाया घोषित भएका छन्।

त्यसैगरी एरिस्टो माध्यमिक विद्यालयका शैलेश खड्का उत्कृष्ट शब्दबाट पुरस्कृत भए भने सबैभन्दा धेरै अंक प्राप्त कर्ताको रूपमा वात्सल्यकै विलक्षण पौडेल घोषित भए। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफीद्वारा सम्मान गरिएको छ ।

यस्तै, क्वेस्ट नेपालको सहकार्यमा चैतन्य पाठशालामा एसक्युसी कन्भेन्सनको  आयोजना भएको थियो। जसअन्तर्गत विद्यार्थीहरूको तार्किक, विश्लेषणात्मक तथा बौद्धिक क्षमता अभिवृद्धिका लागि मुन डिबेट सेसन राखिएको थियो।

उक्त सेसनमा कैलाली बहुमुखी क्याम्पसका असोसिएट प्रोफेसर सीताराम भट्ट र अंग्रेजी अध्यापिका हेमा उप्रेती निर्णायकका रूपमा उपस्थित थिए। निर्णायकद्वयले विद्यार्थीहरूको प्रस्तुति सशक्त, प्रभावकारी र आशाजनक रहेको मूल्यांकन गरेका थिए जसमा ग्ली एकेडेमी सर्वाेत्कृष्ट घोषणा भएको छ भन ज्ञानज्योती अत्तरिया र एभरेष्ट एकेडेमी अत्तरियाको उत्कृष्ट प्रस्तुती रहेको थियो ।

एसक्युसी कन्भेन्सनका विद्यार्थीहरूले आफ्ना विद्यालयमा आधारित केस–स्टडी फाइन्डिङ प्रस्तुत गरेका थिए। प्रस्तुतिमा फिडब्याक एक्सपर्टका रूपमा तेज पुरुष तथा यज्ञराज पाण्डेले विश्लेषणात्मक प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा प्राचार्य प्रेमनिधि ओझाले ‘विद्यार्थीहरू फूलका कोपिला हुन्, तिनलाई उचित वातावरणमा फुल्न दिनुपर्छ,’ भन्दै शिक्षा र संस्कारलाई समभावले अघि बढाइने चैतन्य पाठशालाको प्रतिबद्धता दोहोर्‍याए।