धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ३ ले सडक विस्तार तथा निर्माणका कामका लागि सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्रमा रहेका संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ।
वडा कार्यालयबाट जारी सूचनामा श्री दिपेन्द्र मार्ग (आन्तरिक राजश्व कार्यालयदेखि पश्चिम) र श्री नेशनलमार्ग (रोड हाउस क्याफे को पश्चिम पट्टी पक्की कुवा जाने बाटो) अन्तर्गतका सडकहरू प्रदेश सरकारको सहकार्यमा निर्माण तथा स्तरोन्नति प्रक्रिया अघि बढ्ने भएकाले सडक क्षेत्राधिकारभित्र सबै प्रकारका पूर्वाधार, संरचना, सामान आदि हटाइदिन आग्रह गरिएको छ।
वडाध्यक्ष राजबहादुर ऐरले निर्धारित १५ दिनभित्र सडक क्षेत्र खाली नगरे कारवाहीका प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएका छन्।
वडा कार्यालयका अनुसार सडक निर्माण तथा स्तरोन्नतिका कार्य चाँडो सुचारु बनाउन यसअघि नै जानकारी गराइए पनि संरचना नहटाइएकाले पुनः सूचना जारी गरिएको हो।
