बिहिबार, बैशाख १७, २०८३

सुदूरपश्चिमबाट एक वर्षमा २९ हजार जना विदेश पलायन

धनगढी: वार्षिक आर्थिक गतिविधि अध्ययन २०८१-८२ अनुसार यस वर्ष विदेश जाने श्रमिकको संख्या उल्लेखनीय रूपमा बढेको छ। अध्ययनका अनुसार आर्थिक वर्ष २०८१-८२ मा प्रदेशबाट २८ हजार ९ सय ९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

श्रम स्वीकृति लिनेहरूमध्ये २६ हजार ३ सय ७९ पुरुष र २ हजार ६ सय १२ महिला रहेका छन्।

यो संख्या समग्र देशभरि रहेका श्रम स्वीकृति लिनेको कुल संख्याको झण्डै ३.४५ प्रतिशत हो।
गत आर्थिक वर्ष २०८०-८१ को तुलनामा यस प्रदेशबाट विदेश जाने श्रमिक संख्या २०.६७ प्रतिशतले बढेको अध्ययनले निष्कर्ष निकालेको छ।

विशेषज्ञहरूले रोजगारीका अवसर सीमित हुनु, विदेशमा कमाइको आकर्षण तथा वैदेशिक रोजगार प्रक्रियामा सहजता जस्ता कारणले श्रमिक बाहिर्गमन बढिरहेको बताएका छन्।