बिहिबार, बैशाख १७, २०८३

धनगढीसहित देशभर अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

धनगढी– अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान आइतबारदेखि कैलालीसहित देशभर एकै साथ सुरु भएको छ । महिलामाथि हुने सबै प्रकारका हिंसाका रूप अन्त्य गर्दै समानता, सुरक्षित जीवन र सम्मानजनक समाज निर्माणका लागि हरेक वर्ष विश्वभर चलाइने यो अभियान नेपालमा पनि विभिन्न कार्यक्रमसहित प्रारम्भ गरिएको हो ।
अभियानको सुरुवात धनगढीमा प्रतीकात्मक ¥यालीबाट गरिएको थियो । सामाजिक विकास मन्त्रालय, धनगढी उप–महानगरपालिका, स्थानीय निकायहरू, गैर–सरकारी संस्था तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूको संयुक्त आयोजनामा निकालिएको ¥याली ट्राफिक चौराहाबाट सुरु भई पार्कमोडसम्म पुगेको थियो ।
कार्यक्रममा सहभागीहरूले महिला हिंसा अन्त्यका लागि ‘हिंसाविरुद्ध एकजुट बनौँ’, ‘महिला अधिकारको सम्मान गरौँ’, ‘समानता र न्याय हाम्रो आधार’ जस्ता नारासहित सचेतनामूलक गतिविधि सञ्चालन गरे । स्थानीय विद्यार्थी, महिला समूह, नागरिक समाजका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीहरू उल्लेख्य संख्यामा सहभागि थिए ।
सो अवसरमा कैलाली प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले हातेमालो गर्दै सबै एक साथ अघि बढेको बढाउँदै हिसाँविरुद्धको आवाजलाई कर्तव्य उन्मुख बनाउन जरुरी रहेको बताए । उनले गर्भदेखि मृत्युसम्म महिलामाथि भइरहेको विभेदलाई अन्त्य गर्नुपर्ने बताए । उनले प्रविधिको विकाससंगै त्यसको दुरुपयोगले महिलामाथि हुने हिँसा पनि बृद्धि भइरहेको बताए ।

धनगढी उपप्रमुख कन्दकला रानाले महिलाहरुले भ्रुण हत्या, बालविवाह लगायत विभिन्न हिँसा भोग्नुपरेको बताइन । उनले १६ दिने अभियान जनचेतनामार्फत महिलामाथि हुने हिँसा निवारण गर्न मनाईदै आइएको बताइन । महिला र पुरुषविचको विभेदले ठुलो खाँडल ल्याइरहेको बताइन ।

अभियानका क्रममा विभिन्न विद्यालय तथा सामुदायिकस्तरमा सचेतना कार्यक्रम, अन्तरक्रिया, तालिम, अवलोकन तथा छलफल सत्र आयोजना गरिदै आइएको छ । महिला हिंसा सम्बन्धी मुद्दामा समुदायस्तरमै जानकारी बढाउने, पीडितको पहिचान तथा संरक्षणमा सहयोग गर्ने र सुरक्षामैत्री वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रमहरू अघि बढाइने बताइएको छ ।
सरकारले पनि यस वर्षको अभियानलाई प्रभावकारी बनाउन विभिन्न मन्त्रालय, प्रदेश र स्थानीय तहसँग समन्वय गरी जिल्लास्तरदेखि टोलस्तरसम्म कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ । विशेष गरी लैङ्गिक हिंसाका घटनामा कमी ल्याउने, उजुरी प्रणालीलाई सरल र पहुँचयोग्य बनाउने तथा पीडितसँगको न्यायिक प्रक्रियालाई सहज बनाउने विषयमा जोड दिइएको छ ।
१६ दिने अभियानलाई देशभरका विभिन्न संगठन, विद्यालय, राजनीतिक दलका महिला संगठन, स्वास्थ्य संस्था र मानवअधिकार समूहहरूले आफ्नो–आफ्नै शैलीमा मनाइरहेका छन् । सामाजिक सञ्जालमार्फत समेत यसबारे सचेतना फैलाउने गतिविधि तीव्र बनाइएको छ ।
अभियान नोभेम्बर २५ (अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस) देखि डिसेम्बर १० (मानवअधिकार दिवस) सम्म निरन्तर चल्नेछ ।