धनगढीमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा सह–संयोजक माधव कुमार नेपालले नयाँ पुस्ताका जेन्जी युवाहरू तीव्ररूपमा आफ्नो पार्टीतिर आकर्षित भइरहेको दाबी गरे। उनले युवा पुस्ताको विश्वास जित्नु पार्टीको सही दिशा र उद्देश्यको परिणाम भएको उल्लेख गर्दै, “हाम्रो दिमागमा देश कसरी बनाउने भन्ने सोच छ, विदेशीको पिछलग्गु भएर होइन, जनतालाई केन्द्रमा राखेर अघि बढ्ने हो,” भनेर स्पष्ट गरे।
नेता नेपालका अनुसार पार्टी समाजवादतर्फ अघि बढ्ने दृढ संकल्पमा छ। उनले सबै नेता उस्तै हुँदैनन् भन्ने उल्लेख गर्दै “राम्रा–नराम्रा सबै प्रकारका नेता छन्, तर देश बनाउने सोच भएका नेताहरू पनि पर्याप्त छन्,” भने।
सभामा भव्य उपस्थितिले सुदूरपश्चिमबाट नेकपा पहिलो शक्ति हुने सन्देश दिएको उनको भनाइ थियो। नेपालले प्रचण्ड र आफ्नो नेतृत्वमा सुदूरपश्चिममा भएका विकासगत कामको स्मरण गर्दै अब देश निर्माणको अभियानलाई अझ सशक्त बनाउन आग्रह गरे।
उनले नेपाली राजनीति दलालीकरण, अपराधीकरण, ठेकेदारीकरण र भ्रष्टाचारबाट ग्रस्त भएको आरोप लगाउँदै, यी विकृतिको अन्त्य गरेर स्वच्छ राजनीतिको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताए। “इमानदारी र समर्पण बिना देश बन्न सक्दैन। हामी समाजवादको बाटोमा नयाँ नेपाल निर्माणतिर अघि बढ्छौँ,” उनले जोड दिए।