बुधबार, बैशाख १६, २०८३

विशेष महाधिवेशन माग्नेहरूको मुखमै लोप्पा– सभापति नारायण दत्त भट्ट

 

धनगढी –
नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले विशेष महाधिवेशन माग गर्दै पार्टी नेतृत्वलाई अप्ठ्यारोमा पार्नेहरूलाई कटाक्ष गर्दै “आफ्नो मुखमा लोप्पा लगाएर थुचुक्क बस्नुस” भन्ने प्रतिक्रिया दिएका छन्।

उनले धनगढी–१६ घसिटामा आयोजित ‘जय नेपाल पेनाल्टी सुटआउट प्रतियोगिता २०८२’ को उद्घाटन कार्यक्रममा बोल्दै पार्टीभित्र उत्पन्न विवादप्रति असन्तुष्टि व्यक्त गरे।

सभापति भट्टले भने,
“नेतृत्वलाई दबाबमा पारेर नेता बन्न खोज्ने दुराशयका साथ उठेका कुरा गलत छन्। जेनजी आन्दोलनपछि पार्टीका धेरै कागजातहरू जलेका छन्। क्रियाशील सदस्यता कसरी प्रमाणित गर्ने? आधार के? जिम्मेवारीको स्थानमा बसेर गैरजिम्मेवार टिप्पणी गर्न मिल्दैन।”

उनका अनुसार ८३ मंसिरमा अधिवेशन गर्ने सहमति भएपछि हालको आन्दोलनले मंसिरभित्रै अधिवेशन गर्नुपर्ने कुनै नयाँ परिस्थिति सिर्जना गरेको छैन।
“कांग्रेसलाई बलियो बनाउनेबारे छलफल गर्नुपर्ने बेला हो। तर केही पदाधिकारीहरू अनुहार परिवर्तनको रट लगाएर बस्नु उचित होइन,” भट्टले भने।

कार्यक्रम कांगेस धनगढी–१६ को समन्वय तथा कांग्रेस क्षेत्र नं. ५, कैलालीको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला सचिव नृपबहादुर सुनार, क्षेत्रीय सभापति भिम पडाल, १९ वटै वडाका सभापति, विभिन्न तहका नेता–कार्यकर्ता, पत्रकारलगायतको उपस्थिति रहेको थियो।