सोमवार, बैशाख १४, २०८३

रास्वपा–विवेकशील साझा आज एकीकृत हुँदै, वैकल्पिक शक्तिको नयाँ ध्रुवीकरण

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी आज एकीकृत हुँदैछन्। दुवै दलबीच लोकतान्त्रिक चरित्रको बलियो वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यसहित राष्ट्रिय सभागृहमा दिउँसो २ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।

विवेकशील साझा १३ वर्षअघि उज्ज्वल थापाको अभियानबाट जन्मिएको हो भने रास्वपा ४० महिना अघि गठन गरिएको दल हो। एकतापछि दलको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहनेछ, जुन विवेकशील साझाले नि:शर्त स्वीकार गरेको छ।

उच्चस्तरीय संवाद समितिबीच पाँच चरणको छलफलपछि दुवै दल एकतामा पुगेका हुन्। रास्वपाबाट डा. स्वर्णिम वाग्ले र विवेकशील साझाबाट प्रकाशचन्द्र परियारको नेतृत्वमा संवाद टुङ्गिएको हो।

कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सोही अवसरमा विवेकशील साझाले आफ्नो विपत् कोषको ३३ लाख रुपैयाँ पनि रास्वपालाई हस्तान्तरण गर्नेछ।

एकीकरणले वैकल्पिक राजनीतिलाई मजबुत बनाउने तथा उज्ज्वल थापाको स्मृतिमा प्रत्येक जेठ १८ मा स्मृति दिवस मनाउने पनि सहमति भएको छ।