सोमवार, बैशाख १४, २०८३

धनगढी उपमहानगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा: परिवारजनलाई अन्तिम श्रद्धाञ्जली सहज

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराउँदै आएको छ। विगत दुई वर्षमा उपमहानगरले ५ सय ५६ परिवारलाई यो सेवा प्रदान गरेको छ।

२०८० मंसिर ११ गतेदेखि सुरु भएको अभियान अन्तर्गत बिहीबारसम्म ५ सय ५६ शव सुरक्षित राखिएको नगरपालिकाले जनाएको छ। घरमा मृत्यु भएमा विदेश वा टाढा रहेका परिवारजन तथा आफन्तलाई अन्तिम संस्कारमा सहभागी हुन सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

नगर प्रमुख गोपाल हमालका अनुसार, “विदेश गएका छोरा–छोरीले आमा–बुबाको अन्तिम अनुहार हेर्न पाउन, मृत्युलाई टार्न नसकेपनि कम्तिमा सम्मानपूर्वक अन्तिम श्रद्धाञ्जली दिन सकून् भन्ने उद्देश्यले सेवा सुरु गरिएको हो।”

वडा नं. १४ फूलवारीका जंग चौधरीको निधनपछि उनका परिवारजन घरबाट टाढा रहेका कारण नगर प्रहरीको सहयोगमा शव घरमै सुरक्षित राख्न सकियो। दुई दिनपछि परिवार आउँदा दाहसंस्कार सम्पन्न भयो। स्थानीय बिष्णुदत्त खड्काले उपमहानगरको शव चिस्यान केन्द्रले परिवारजनलाई धेरै सहजता प्रदान गरेको बताए।

सेवा २४ घण्टे छ र नगरवासीहरूले टोल फ्री नम्बर १८१०५००००९० वा ०९१–५९०६९० मा सम्पर्क गर्न सक्नेछन्। नगर प्रहरी सानो ट्रकमार्फत शव चिस्यान मेसिन सम्बन्धित घरमा पुर्याई जडान गर्ने र दाहसंस्कार पछि फिर्ता ल्याउने व्यवस्था छ।

उपमहानगरले विपन्न परिवारका लागि पाँच हजार रुपैयाँ नगद सहयोग, शववाहन सेवा, घाटसम्म शव पुर्‍याउने, सलामी अर्पण गर्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ। सुरुमा दुई वटा मेसिनबाट सेवा सुरु गरिएको थियो भने हाल ६ मेसिनमार्फत १९ वटै वडामा विस्तार गरिएको छ। ८५ जनाको नगर प्रहरी टोली तीन सिफ्टमा खटिएर ‘हर घडी नगर प्रहरी’ नारासहित सेवा प्रवाह गरिरहेको छ।