आइतवार, बैशाख १३, २०८३

आगामी चुनाव नलड्ने बद्री पाण्डेकाे घाेषणा

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, विघटित प्रतिनिधिसभामा बाजुराबाट निर्वाचित सांसद बद्री प्रसाद पाण्डेले आगामी फागुनमा हुने प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने  बाजुरामा आयोजित निर्वाचनकेन्द्रित पार्टी बैठकमा सार्वजनिक गरेका छन्।

पाण्डेले जेन–जी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए। यही पृष्ठभूमिमा उनले यसपटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन्।

उनका अनुसार अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने तथा योग्य र सक्षम नयाँ  उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्‍याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ।

पूर्वमन्त्री पाण्डे आफ्नो कार्यकालमा नीतिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागिता तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मूल्यांकनमा विशिष्ट श्रेणीसहित उत्कृष्ट तथा `पर्यटनमन्त्री वर्ष´ पुरस्कारबाट सम्मानित भएका थिए । उनले  जिल्लाका जनताले माग  गरेअनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापूर्वक लागिपरेको उल्लेख गरे। आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टी र पार्टीमार्फत मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने दृढता उनले व्यक्त गरे।

कांग्रेस महाधिवेशनका सन्दर्भमा अहिले आफू समन्वयकारी भूमिकामा रहेको र कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने विषय पार्टीका साथी तथा नेताहरूसँगको सल्लाहमा तय गर्नेसमेत बताए।