आइतवार, बैशाख १३, २०८३

सुदूरपश्चिमको सम्भावना खोज्दै ‘भिजन सुदूरपश्चिम’

धनगढी– प्राकृतिक सौन्दर्य, उर्वर भूमि, मेहनती जनशक्ति र समृद्ध संस्कृतिको भण्डार भए पनि सुदूरपश्चिम प्रदेश विकासका हिसाबले अझै अपेक्षित स्थानमा पुग्न सकेको छैन । दशकौँदेखि पछाडि परेको क्षेत्रका रूपमा चिनिँदै आएको सुदूरपश्चिमलाई अब सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सुदूरपश्चिम महोत्सवमा यस वर्ष पहिलोपटक ‘भिजन सुदूरपश्चिम’ कार्यक्रम सुरु गरिएको छ ।

प्रदेशको समग्र विकास यात्रालाई नयाँ दृष्टिकोणबाट अघि बढाउने सोचसहित सुरु गरिएको यो कार्यक्रम केवल छलफलमा सीमित छैन, बरु दीर्घकालीन विकासका आधार तयार गर्ने एउटा प्रयास हो । महोत्सव स्थलमै आयोजना भइरहेको ‘भिजन सुदूरपश्चिम’ मार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि र पर्यटनजस्ता प्रदेशका प्रमुख क्षेत्रहरूको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहन बहस भइरहेको छ ।

कार्यक्रममा सहभागी विज्ञ, नीति निर्माता, उद्यमी, निजी क्षेत्रका प्रतिनिधि तथा युवाहरूले सुदूरपश्चिममा उपलब्ध स्रोत–साधन, मानव पूँजी र प्राकृतिक सम्पदाको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राखिरहेका छन् । प्रदेशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि दीर्घकालीन योजना, लगानीको अभाव र समन्वयको कमीले विकासले गति लिन नसकेको निष्कर्ष छलफलमा बारम्बार उठिरहेको छ ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, खेलकुदमा प्रतिभा पहिचान, कृषिमा आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ । सहभागीहरूका अनुसार यी क्षेत्रहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सके सुदूरपश्चिम आर्थिक तथा सामाजिक रूपान्तरणको दिशामा अगाडि बढ्न सक्छ ।

‘भिजन सुदूरपश्चिम’ कार्यक्रमको विशेषता भनेको नीति निर्माण तह, निजी क्षेत्र र युवाहरूलाई एउटै मञ्चमा ल्याउनु हो । यसले एकातिर नीतिगत तहमा भइरहेका प्रयासबारे जानकारी गराउँछ भने अर्कोतिर निजी क्षेत्र र युवालाई लगानी तथा उद्यमशीलताको नयाँ अवसरबारे सोच्न प्रेरित गर्छ ।

आयोजकहरूका अनुसार प्रदेश विकासका लागि सरकारी प्रयास मात्र पर्याप्त हुँदैनन् । निजी क्षेत्रको लगानी, स्थानीय उद्यमशीलता र युवाको सक्रिय सहभागिता बिना समृद्धि सम्भव नहुने भएकाले सबै सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक छ । यही सोचअनुसार ‘भिजन सुदूरपश्चिम’ लाई साझा संवादको मञ्चका रूपमा विकास गरिएको हो ।

कार्यक्रमका संयोजक तथा कैलाली उद्योग वाणिज्य संघका सदस्य अजय पाण्डेय भन्छन्, ‘सुदूरपश्चिमको विकास तत्कालीन योजनाभन्दा पनि दीर्घकालीन सोचमा आधारित हुनुपर्छ । ‘भिजन सुदूरपश्चिम’ ले प्रदेशको दीर्घकालीन विकास दृष्टिकोण बुझ्न र सम्भावनामा आधारित लगानी तथा सहकार्यका अवसर पहिचान गर्न मद्दत गर्नेछ ।’

उनका अनुसार महोत्सवमा सहभागी दर्शक, उद्यमी र सरोकारवालाले प्रदेशमा रहेका अवसर र चुनौतीलाई नजिकबाट बुझ्ने मौका पाएका छन् । यसले भविष्यमा नयाँ परियोजना, लगानी र साझेदारीको ढोका खोल्ने विश्वास आयोजकको छ ।

महोत्सव अवधिभर प्रत्येक दिन फरक–फरक विषयमा केन्द्रित भएर सरोकारवालासँग प्रत्यक्ष संवाद, अन्तरक्रिया र छलफल भइरहेको छ । औपचारिक प्रस्तुति मात्र नभई अनुभव साटासाट, प्रश्न–उत्तर र खुला बहसले कार्यक्रमलाई जीवन्त बनाएको छ ।

‘भिजन सुदूरपश्चिम’ ले सुदूरपश्चिमको विकास सम्भावनालाई केवल कागज र भाषणमा सीमित नराखी व्यवहारिक कार्यदिशातर्फ लैजाने प्रयास गरेको छ । सहभागीहरूका अनुसार यस्ता पहल निरन्तर रूपमा अघि बढे सुदूरपश्चिमको विकास यात्राले नयाँ गति लिनेछ ।

सुदूरपश्चिम महोत्सवमा सुरु गरिएको ‘भिजन सुदूरपश्चिम’ कार्यक्रमले प्रदेशको भविष्यबारे सोच्ने, छलफल गर्ने र सहकार्यको आधार तयार गर्ने अवसर दिएको छ । सम्भावनाले भरिएको सुदूरपश्चिमलाई समृद्धिको दिशामा लैजान साझा सोच, स्पष्ट दृष्टि र दीर्घकालीन प्रतिबद्धता आवश्यक छ । ‘भिजन सुदूरपश्चिम’ त्यसै दिशामा चालिएको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।