धनगढी– किसानलाई आधुनिक कृषि मेशिनरी तथा आवश्यक उपकरण सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सृष्टि एग्री सोलुसनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३, चटकपुरमा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
नवसञ्चालित शाखाको उदघाटन कैलाली उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष भिमराज ओझा ‘अब्बु’ ले रिबन काटेर गरेका हुन । उद्घाटन समारोहमा स्थानीय व्यवसायी, कृषक, उद्योगी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले आधुनिक कृषि उपकरणको प्रयोगले कृषिमा उत्पादन र उत्पादकत्व बढ्ने भन्दै यस्ता संस्थाहरूको विस्तारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।
शाखा सञ्चालक भरत कठायत र रमेश कठायतले सृष्टि एग्री सोलुसनमार्फत किसानको आवश्यकतालाई ध्यानमा राखेर गुणस्तरीय कृषि मेशिनरी उपलब्ध गराउने लक्ष्य रहेको बताए । उनका अनुसार शाखामा पिएनए ब्राण्डका मिनी ट्रेलर, पावर टिलर तथा तीसँग सम्बन्धित विभिन्न पार्टपुर्जाहरू बिक्री तथा सेवा उपलब्ध गराइनेछ । आधुनिक उपकरणको प्रयोगबाट श्रम लागत घट्नुका साथै समयको बचत हुने र उत्पादनमा वृद्धि हुने उनले बताए ।
उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षित गर्न विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । शाखा सञ्चालन सुरु भएको मितिले सात दिनभित्र मिनी ट्रेलर तथा पावर टिलर खरिद गर्ने किसान तथा ग्राहकहरूलाई विशेष छुट प्रदान गरिने व्यवस्था गरिएको छ । यसले किसानलाई आधुनिक उपकरण खरिदतर्फ प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी किसानहरूले धनगढीमै यस्ता कृषि मेशिनरी तथा पार्टपुर्जा सहज रूपमा पाउन थालेपछि अन्य शहरमा जानुपर्ने बाध्यता हट्ने भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरूले बिक्रीसँगै मर्मत तथा पार्टपुर्जाको उपलब्धता सुनिश्चित भए कृषिमा थप सुधार आउने धारणा राखेका छन् ।
सञ्चालक कठायतका अनुसार भविष्यमा कृषि मेशिनरीसम्बन्धी तालिम, प्राविधिक परामर्श तथा सेवा विस्तार गर्ने योजना पनि रहेको छ । किसानको पहुँचमा आधुनिक प्रविधि पु¥याएर कृषि क्षेत्रलाई व्यवसायिक, प्रविधिमैत्री र उत्पादनमुखी बनाउने उद्देश्यका साथ सृष्टि एग्री सोलुसन धनगढी शाखा सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।