कैलाली — सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ । सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने ‘थारू कला प्रदर्शनी घर’ पनि सञ्चालनमा छ । जहाँ उक्त सामुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।
यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन् । ती कक्षमा थारु समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन् । व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन् ।