शनिबार, बैशाख १२, २०८३

कैलालीको अत्तरियामा आज देखि सिर्जनशील सांस्कृतिक महोत्सव सुरु, नगर प्रमुख भट्टद्धारा उद्धघाटन

अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ ।

सृजनशिल युवा क्लबको आयोजनामा अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा सुरु भएको महोत्सवको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका छन् ।

पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ ।

अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निशुल्क गरिएको छ । क्लबका अध्यक्ष नर राईले महोत्सव सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो ।

विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले आफूहरुले फेरि सुरु गरेकोे हो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ को उद्घाटन गर्दै कला, संस्कृति र पहिचानको संरक्षणमा यस्ता महोत्सवहरूको महत्वपूर्ण भूमिका रहने बताए। उनले स्थानीय कला, संस्कृति र मौलिकता जगेर्ना गर्दै युवालाई सिर्जनशील कार्यमा जोड्न महोत्सवले सकारात्मक योगदान पुर्‍याउने उल्लेख गरे।

नगर प्रमुख भट्टले अत्तरियालाई सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै सृजनशील युवा क्लबको पहल प्रशंसनीय रहेको धारणा व्यक्त गरे। उनले महोत्सव सफल बनाउन आयोजक, कलाकार, सुरक्षाकर्मी र स्थानीयवासी सबैको सहकार्य आवश्यक हुनेमा जोड दिए।
साथै, यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै महोत्सव सभ्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे।