बिहिबार, बैशाख १०, २०८३

कैलाली क्षेत्र नं. ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कैलाली, २ माघ  /   कैलाली निर्वाचन क्षेत्र नं.४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका– १ स्थित कृषि तथा पशुपंक्षी सेवा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले उद्घाटन गरे । कार्यालय स्थापना पश्चात बोल्दै सहायक निर्वाचन अधिकृत गिरीराज भण्डारीले कैलाली निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताए । उनले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लगायतका सम्पुर्ण कार्यक्रमका लागि कार्यालय स्थापना भएको उनले बताए ।

उनले उक्त कार्यालयबाट गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका सबै वडा तथा मोहन्याल गाउँपालिका को वडा नं.५ का सम्पुर्ण मतदान स्थल, मतदान केन्द्र तथा निर्वाचनका सम्पुर्ण कामकारबाहीहरु हुने बताए । ‘कार्यालयबाट मतदान केन्द्र तथा स्थलहरुमा कर्मचारी खटनपटन गर्ने, मतदान सञ्चालन गर्ने र मतमेटीका संकलन गरी मत घोषणा गर्ने लगायतका काम हुनेछन’ उनले भने ।

१ लाख १५ हजार मतदाता, १३६ मतदान केन्द्र

कैलाली निर्वाचन क्षेत्र नं.४ मा यसपटक १ लाख १५ हजार बढी मतदाता रहेका छन । सहायक निर्वाचन अधिकृत भण्डारीका अनुसार सो निर्वाचन क्षेत्रमा १ लाख १५ हजार १४३ मतदाता रहेका छन । यस्तै सो निर्वाचन क्षेत्रमा ५७ मतदान स्थल रहेको १३६ मतदान केन्द्र रहेको भण्डारीले बताए ।

सहायक निर्वाचन अधिकृत भण्डारीका अनुसार उक्त मतदान स्थलहरुमध्ये गोदावरी नगरपालिकामा २४, गौरीगंगा नगरपालिकामा १७, चुरे गाउँपालिकामा १४ र मोहन्याल गाउँपालिकामा २ वटा रहेका छन । त्यस्तै १३६ निर्वाचन केन्द्रमध्ये गोदावरीमा ६९, गौरीगंगामा ४५, चुरेमा २० र मोहन्यालमा २ वटा रहेको भण्डारीले बताए ।