धनगढी – विद्याको देवी सरस्वतीको आराधनासँगै आज धनगढी उपमहानगरपालिकाका विभिन्न विद्यालयहरूमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य र धूमधामका साथ मनाइएको छ। बसन्त पञ्चमीको पावन अवसरमा विद्यालय परिसर भक्तिमय, सांस्कृतिक र उत्साहपूर्ण बनेको देखिएको छ। साना नानीदेखि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनसम्मको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको छ।
बसन्त पञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको विशेष दिनमा धनगढी–३ स्थित मयुर बोर्डिङ स्कुलले सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम आयोजना गरेको छ। पूजा, आरती र सांस्कृतिक कार्यक्रमसँगै विद्यालयले नानीहरूका लागि अक्षरारम्भ गराउनुका साथै निःशुल्क भर्ना कार्यक्रमसमेत सञ्चालन गरेको छ।

विद्यालय संयोजक गणेश बोहोराले सरस्वती पूजाको अवसरमा विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिँदै यसले बालबालिकामा शिक्षा प्रतिको रुचि, अनुशासन र संस्कार विकास गर्ने बताए। उनका अनुसार अक्षरारम्भ कार्यक्रममार्फत साना बालबालिकाले औपचारिक शिक्षाको पहिलो पाइला चाल्ने भएकाले यस दिनको विशेष महत्व रहेको छ।
यस्तै, धनगढीमा रहेको स्टेपिङ स्टोन इङ्लिस स्कुलमा पनि सरस्वती माताको विधिवत पूजा–आराधना गरिएको छ। विद्यालयकी सिनियर भाइस प्रिन्सिपल पवित्रा शाहका अनुसार विद्यालय परिसरमा बिहानैदेखि सरस्वती वन्दनाको मधुर धुन गुन्जिएको थियो।
उनले बालबालिकालाई सरस्वती वन्दना गाउन लगाइएको र सरस्वती पूजा विद्यार्थीहरूको आफ्नै उत्सवका रूपमा मनाइने परम्परा रहेको बताइन्। साना नानीहरूले बिहानदेखि निरन्तर सरस्वती वन्दना गाइरहेको दृश्यले विद्यालय वातावरणलाई अझ पवित्र र सकारात्मक बनाएकोमा उनले खुसी व्यक्त गरिन्।
त्यस्तै, श्री शारदा माध्यमिक विद्यालयमा पनि बसन्त पञ्चमीको अवसरमा विशेष धार्मिक तथा शैक्षिक कार्यक्रम आयोजना गरिएको छ। विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले विद्याकी देवी सरस्वतीको पूजा, प्रसाद ग्रहण तथा शैक्षिक चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार बालबालिकाले बसन्त पञ्चमीलाई अत्यन्तै महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन्। यस अवसरमा गुरु मन्त्र, सरस्वती वन्दना, बसन्त श्रवण र मनोवैज्ञानिक सिकाइमार्फत बालबालिकालाई शिक्षा प्रतिको महत्व बुझाइने गरिएको उनले बताए।
प्रधानाध्यापक सिंहले शिक्षा जीवनभरका लागि मार्गदर्शन गर्ने आधार भएकाले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको धारणा व्यक्त गरे। पूर्वीय दर्शनअनुसार बसन्त पञ्चमी शिक्षा आर्जन सुरु गर्नका लागि अत्यन्त शुभ दिन मानिने भएकाले यस पर्वको धार्मिक मात्र नभई शैक्षिक र सांस्कृतिक महत्व पनि उत्तिकै रहेको उनको भनाइ छ।
धनगढीका विद्यालयहरूले सरस्वती पूजालाई केवल औपचारिक पूजा कार्यक्रममै सीमित नराखी शैक्षिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा अर्थपूर्ण बनाएका छन्। अक्षरारम्भ कार्यक्रममार्फत साना नानीहरूलाई शिक्षा यात्राको सुरुवात गराउनु, सरस्वती वन्दना र सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीमा आत्मविश्वास र संस्कार विकास गराउनु सकारात्मक पक्ष हो।
यसले बालबालिकामा शिक्षा प्रतिको आकर्षण बढाउनुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई समेत सुदृढ बनाएको देखिन्छ। आधुनिक शिक्षासँगै मौलिक संस्कारको संरक्षण गर्नु आजको समयको आवश्यकता भएकाले यस्ता कार्यक्रमहरू अझ प्रभावकारी मानिन्छन्।