शनिबार, जेष्ठ २३, २०८३

कैलाली–५ मा कांग्रेसको निर्वाचन कमाण्ड भिम पडाललाई, मूल निर्वाचन समिति गठन

कैलाली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ को निर्वाचन कमाण्ड क्षेत्रीय सभापति भिम पडाललाई जिम्मा दिएको छ । शुक्रबार सम्पन्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको बैठकले पडालको संयोजकत्वमा क्षेत्रीय मूल निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले यसै क्षेत्रमा जिल्ला सचिव केशव मिश्रलाई प्रतिनिधिका रूपमा खटाउने निर्णयसमेत गरेको छ । निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन पार्टीका सबै तहका संरचना परिचालन गर्ने तथा उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने रणनीतिमा कांग्रेस अघि बढेको छ ।

जिल्ला कार्यसमिति कैलालीको बैठक कार्यवाहक सभापति खेमराज डगौरा थारुको अध्यक्षतामा धनगढीमा सम्पन्न भएको थियो । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामजनम चौधरी, डा. राण बहादुर रावल, सुशिला मिश्र, नृप वड र डा. जीवन राना सहभागी थिए । साथै प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत क्षेत्र नम्बर १ का उम्मेदवार जनकराज चौधरी, क्षेत्र नम्बर २ का विजय स्वार, क्षेत्र नम्बर ३ का भिम बडुवाल, क्षेत्र नम्बर ४ का गोरखा बहादुर बिष्ट र क्षेत्र नम्बर ५ का नरनारायण शाहको उपस्थिति रहेको थियो ।

यस्तै राष्ट्रिय सभा सदस्य उम्मेदवार वरिष्ठ अधिवक्ता खम्म खाती, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार रिता चौधरी, प्रदेश सभा सदस्य तुलसी देवकोटा, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर सभापति, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय सदस्य र जिल्लाका प्रमुखहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।