मङ्लबार, बैशाख ८, २०८३

निर्जन बन्दै हुम्लाको लिमी उपत्यका : तीन वटै गाउँबिच स्थानान्तरणको सहमति

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ लिमी उपत्यकाका बासिन्दाहरू सामूहिक स्थानान्तरणको तयारीमा जुटेका छन् । जलवायु परिवर्तनजन्य विपद्को त्रासले पुर्ख्यौली थलो छोडेर लिमीवासीहरु स्थानान्तरण हुन लागेका हुन् । लिमी छोडेर उनीहरुले टाक्ची गाउँमा जाने सहमति गरिसकेका छन् ।

केही दिनअघि मात्रै तीन गाउँहरूबिच स्थानान्तरण हुने सहमति भएको हो । स्थानीय समाजसेवी मंगल लामाकाअनुसार जाङ गाउँमा दुई घरधुरीसहित तिलमा १९ र हल्जीमा ९६ घरधुरी स्थानान्तरण हुने सहमतिमा पुगेका छन् ।

सबै बासिन्दा टाक्ची गाउँमा सर्ने सहमति भएको लामाले बताए । लामाले सीमा सुरक्षा र पर्यावरण संरक्षणको चिन्ता पनि व्यक्त गर्नुभयो । लिमीवासीहरूको यो बाध्यताले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखाउँछ भने सीमा सुरक्षा र सांस्कृतिक धरोहर संरक्षणमा नयाँ चुनौती थपिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लिमी उपत्यका हिमालपारिको एउटा लुकेको स्वर्ग हो । त्यहाँका तीन गाउँ—हल्जी, तिल र जाङ— सदियौँदेखि तिब्बती संस्कृतिको जीवन्त केन्द्र हुन् ।

कैलाश मानसरोवर दर्शनको प्रमुख मार्गमा पर्ने यो क्षेत्र, जहाँ हिउँले ढाकिएका चुचुरा, प्राचीन गुम्बा र शान्त उपत्यकाले मानिसलाई मोहित पार्छन् । तर आज यो उपत्यका निर्जन बन्दैछ । जलवायु परिवर्तनको प्रभावले यहाँका बासिन्दाहरू पुर्ख्यौली थलो छोड्न बाध्य भएका छन् ।

गत वर्षहरूमा बारम्बारको बाढी र हिमताल विस्फोटको जोखिमले लिमीवासीहरूलाई बस्नै नसक्ने बनायो ।  जाङ गाउँमा पहिले ६४ घरधुरी थिए, अहिले मात्र दुई बाँकी छन् । बाँकीहरू काठमाडौँ वा अन्यत्र बसाइँ सरे । हल्जीमा ९६ र तिलमा १९ घरधुरीका बासिन्दाहरूले पनि अब टाक्ची गाउँतर्फ सामूहिक स्थानान्तरणको सहमति गरेका छन् ।

स्थानीय समाजसेवी लामाले भने,  “कृषि सुरु भएपछि मानिसहरू बिस्तारै तल सरे । अहिले बाढीले बस्न नसक्ने बनाएपछि तल्लो भेगमा खेती र माथिल्लो भेगमा पर्यटनको अवसर देखिएको छ । कैलाश दर्शन गर्नेहरूका लागि माथि सांस्कृतिक घरहरू बनाएर कल्चर जोगाउन सकिन्छ ।”

उनीहरू आफू मात्र सरेका छैनन् त्यहाँस्थित सांस्कृतिक सम्पदा गुम्बाहरू पनि सँगै लगेका छन् । जलवायु परिवर्तनको विषय सबैको चासोको विषय भएको लामाले बताए । हुम्ला इतिहास र संस्कृतिको धरोहर भएकाले त्यहाँको गुम्बा लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको स्थानीयहरूको भनाइ छ ।

देखाएर पैसा कमाउने हिमाली भेगहरू सरकारले बन्द गरेर राख्नु दुःखद भएको स्थानीयहरूको गुनासो छ । “अब बस्नै नसक्ने अवस्था आएको छ । टाक्चीमा सबै सर्ने सहमति भएको छ,” उनी भन्छन्,, “त्यहाँ खटिएका प्रहरीलाई समेत पर्याप्त कपडा र सुविधा छैन । आफू कठ्याङ्ग्रिएर बस्नेले सीमा कसरी जोगाउन सक्छ ? त्यहाँका मानिसको रक्षा कसरी गर्न सक्छ ? स्थानीय पलायन भएपछि चोरी शिकारी बढ्छ, जडीबुटी र वनजंगल जोखिममा पर्छन् । सीमा सुरक्षामा ठुलो असर पर्छ ।” हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरू जलवायु परिवर्तनको बढ्दो प्रभावले पुर्ख्यौली थलो छोड्न बाध्य भएको नाम्खा वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।

बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमले बस्नै नसक्ने अवस्था आएपछि उनीहरूले सामूहिक रूपमा टाक्ची गाउँतर्फ स्थानान्तरणको निर्णय लिएको उनको भनाइ छ । चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्र कैलाश मानसरोवर दर्शनको प्रमुख मार्ग पनि हो ।

यो पलायनले राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पार्ने देखिन्छ । लिमीवासीहरू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताए । नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ भन्छन्, “हेलिकप्टर आउँछ, राहत ल्याउँछ भन्छन् तर एक दाना चामल पनि पुगेको छैन दुर्गम स्थानमा । हाम्रो पालिकामा बजेट नै पर्याप्त हुँदैन । जलवायु परिवर्तनले ठुलो क्षति गरिरहेको छ । पहिले हिउँ र हिउँ पहिरो मात्र समस्या थियो, अहिले तापक्रम बढेर नयाँ जोखिम थपिएको छ ।”

उनले सीमा सुरक्षाको चिन्ता पनि व्यक्त गरे । नाम्खा गाउँपालिका–६ का अध्यक्ष तामाङको यो अभिव्यक्तिले हुम्लाको दुर्गम हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, राहत वितरणको कमजोरी र सीमा सुरक्षाको आवश्यकतामाथि गम्भीर प्रश्न उठाएको छ ।

“सीमा सुरक्षा अहिलेसम्म स्थानीय जनताले नै अनौपचारिक रूपमा गर्दै आएका छन् । सरकारले त्यहाँ प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्छ ।” उनको भनाइ छ । यी कुराहरूले जलवायु परिवर्तनको प्रभाव कति गहिरो छ भन्ने प्रस्ट पार्छन् ।

बढ्दो तापक्रमले हिमताल पग्लिने र विनाशकारी बाढीको जोखिम बढाएको छ । आधारभूत सुविधाको अभाव र विपद्को त्रासले युवाहरू काठमाडौँ वा अन्यत्र पलायन भइरहेका छन् । बस्ती रित्तिँदा सीमा क्षेत्र निर्जन बन्दै जान्छ । जसले अवैध गतिविधिको ढोका खोल्न सक्छ । हल्जीको ऐतिहासिक रिन्चेनलिङ गुम्बा जस्ता सम्पदा संरक्षणविहीन हुनेछन् । परम्परागत रूपमा जोगाइएको वन र जडीबुटीमा पनि क्षति पुग्नेछ ।

कैलाश मार्गको पर्यटन सम्भावना खेर जाने जोखिम छ । लिमीवासीहरूको यो बाध्यतालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । सडक सुधार, विपद् व्यवस्थापन, आधारभूत सुविधा विस्तार र सांस्कृतिक पर्यटनमा लगानी नगरे हिमाली सीमा नै असुरक्षित बन्न सक्छ ।

यो सङ्कटलाई समयमै सम्बोधन नगरे राष्ट्रिय सुरक्षा र हिमाली पहिचान दुवै सङ्कटमा पर्नेछन् । लिमीवासीहरूको यो बाध्यता जलवायु परिवर्तनको प्रत्यक्ष मार हो । कैलाश दर्शनको मार्गमा पर्यटनको सम्भावना थियो तर सडक अभाव र विपद्को त्रासले सबै खेर जाँदैछ । युवाहरू शहर पलायन भइसके, बूढापाका र बच्चाहरू मात्र बाँकी छन् ।

एउटा हजारौँ वर्षको संस्कृति रित्तिँदैछ । यो कथा केवल लिमीको होइन, हिमाली नेपालको हो । यदि समयमै सडक सुधार, विपद् व्यवस्थापन र आधारभूत सुविधा पुगेन भने यो उपत्यका पूरै निर्जन बन्नेछ ।

कैलाशको छायामा बनेको यो स्वर्गलाई बचाउन अब ढिला गर्नुहुँदैन । लिमीका बासिन्दाहरूको बिदाइ मन छुने छ— उनीहरूले थातथलो छोडेर जाँदै गर्दा पछाडि फर्केर हेर्नेछन् र हिउँ पग्लिएको उपत्यकाले उनीहरूलाई पनि पग्लिएर बगेजस्तै महसुस हुनेछ ।